काठमाडौं माघ ८
भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको आज ९सोमबार० प्राण प्रतिष्ठा गरिएको छ । हिन्दूहरूका भगवान् रामको जन्मस्थल मानिने अयोध्यामा आज मन्दिरको प्राण प्रतिष्ठा गरिएको हो ।
मन्दिरको गर्भगृहमा रामको भव्य मूर्ति राखेर प्राण प्रतिष्ठा गरिएको हो । गर्भगृहमा मुख्य पूजा भएको थियो । पूजा सकिएसँगै वायुसेनाको हेलिकप्टरले पुष्पवृष्टि गरेको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत त्यहाँ उपस्थित थिए । पूजामा पीएम मोदीबाहेक यूपीका सीएम योगी आदित्यनाथलगायत धेरै व्यक्तिहरू सहभागी थिए ।
प्राण प्रतिष्ठाअघि भारतीय प्रधानमन्त्री मोदी ११ दिनको उपबासमा थिए । सन् २०२४ मा लोकसभा निर्वाचनअघि हुन लागेको राम मन्दिरको उद्घाटनले भारतीय जनता पार्टीको चुनाव नतिजालाई प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
यस अवसरमा भारतको केन्द्र सरकारले देशभर नै आधा दिनको छुट्टी दिने घोषणा गरेको छ ।
सन् २०१९ मा भारतको सर्वोच्च अदालतले राम मन्दिर स्थापना गर्ने विषयमा गरेको फैसलापछि मन्दिर बनाइएको हो । अदालतको फैसलापछि सन् २०२० मा राम मन्दिर निर्माण कार्य प्रारम्भ गरिएको थियो । मन्दिर परिसरले ६७ एकड जमिन ओगटेको छ ।