– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, बैशाख २९ –
भतरपुर महानगरपालिकाको मतगणना स्थलमा तारजाली लगाइएको छ । मतगणना स्थलको सुरक्षाका लागि सिसिटिभी पनि जडान गरिएको छ ।
भरतपुर–१० मा रहेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको हलको ब्लक ‘सी’ मा मतगणना गर्न लागिएको हो ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा मतगणनाका क्रममा भरतपुरमा मतपत्र च्यातिएको विषयले गर्दा यसवर्ष पनि मतपत्र च्यातिने होकी भन्ने डर मतदातासामु रहेको छ । उक्त डर हटाउनका लागि तारजाली लगाउन लागिएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत एवम् सूचना अधिकारी पुरूषोत्तम पौड्यालले सातदेखि आठ समूहमा मतगणना गर्न सकिने गरी स्थान तय गरिएको बताए ।
उनले भरतपुरको मतगणना बढीमा सातदिनमा सक्ने लक्ष्य राखिएको बताए । तारजालीभित्र मतगणना गर्ने कर्मचारी र प्राविधिकहरु बाहेक अरु छिर्न नपाउने उनको भनाइ छ । राजनीतिक दलका प्रतिनिधिहरुलाई तारजाली बाहिर राखेर मतगणना गरेको देखाइने उनले बताए । तीन तहको सुरक्षाकर्मीहरुको सुरक्षामा भरतपुरमा मतगणना गर्ने तयारी गरिएको छ ।
२९ वटा वडा रहेको भरतपुरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता रहेका छन् भने ६५ मतदान स्थल २०२ मतदान केन्द्र तोकिएको छ ।