काठमाडाैं पुस १७,
जापानमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या आठ पुगेको छ । अस्पताल र अधिकारीहरूका अनुसार दर्जनौं व्यक्ति घाइते भएका छन् ।
जापानको मध्य भागमा सोमवार ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको थियो । इशिकावा प्रान्तको नोटो क्षेत्रमा स्थानीय समयअनुसार अपराह्न ४:१० बजे मानिसहरूले नयाँ वर्ष मनाइरहेको समयमा भूकम्प गएको थियो ।
भूकम्पपछि सुनामीको चेतावनी दिइएको थियो । यद्यपि अहिले उक्त सूचना हटाइएको छ ।
भूकम्पका कारण सयौं भवनमा क्षति पुगेको छ भने हजारौं मानिसहरू प्रभावित भएको बीबीसीले जनाएको छ ।
भूकम्पपछि हजारौं मानिसले उद्धार केन्द्रमा रात बिताएका छन् । शहरहरूमा केही भवनहरू भत्किएका छन् । भग्नावशेषमुनि मानिसहरू फसेका हुनसक्ने सीएनएनले जनाएको छ ।
भूकम्पपछि ४५ हजारभन्दा बढी घर विद्युतविहीन भएका छन् । जापानको पश्चिमी इशिकावा प्रान्तमा करिब ४५ हजार ७०० घरधुरी बिजुलीविहीन भएको समाचारमा उल्लेख छ ।