काठमाडौँ, ६ पुस
भारतको उत्तर प्रदेशमा एक महिलाले मध्यरात अत्याधुनिक सुरक्षा उपकरणसहितको गाडी चोरेर फरार भएको तथ्य प्रकाशमा आएको छ । उक्त घटना उत्तरप्रदेशको गोरखपुर सहरमा भएको हो । प्रहरीका अनुसार लखनउ निवासी हिमांशु सिंह गोरखपुरको विवेक पुरम टोलस्थित आफ्नो ससुराल गएका थिए ।
१७ डिसेम्बर राति ससुराल घर अगाडि उनले आफ्नो फर्च्युनर गाडी पार्किङ गरेका थिए । बिहान उठेर हेर्दा उनको गाडी चोरी भइसकेको थियो । सीसीटीभी क्यामेर फुटेजमा गाडी चोरीको दृश्य कैद भएको छ ।
प्रहरीका अनुसार एक महिला सेतो रङको ट्रयाक सुट र स्पोर्टस् सुज लगाएर आएको सीसीटीभी फुटेजमा देखिन्छ । ती महिलाले आफूसँगै ल्याएको ल्यापटपबाट कुनै डिभाइस प्रयोग गरेर गाडीको ‘लक’ खोलेको प्रहरीको भनाइ छ ।
ती महिलाले ८ मिनेटभित्रै गाडीको ‘लक’ खोलेर आफैँले उक्त गाडी लिएर गएको प्रहरीले जनाएको छ । प्रहरीले कुनै स्मार्ट डिभाइसको मद्दतले गाडीको पुरानो चाबीलाई निष्क्रिय गरी नयाँ चाबी प्रयोग गरेर चोरी भएको अनुमान गरेको छ । -एजेन्सी