मकवानपुर, २९ मङ्सिर
हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चेक प्वाइन्टबाट सुनजस्तो देखिने धातुसहित दुइजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका–२ बस्ने ३९ वर्षीय हितेस कुमार साह र भारत पंजाबका ३४ वर्षीय तर्सिम सिङ रहेका छन् । उनीहरुलाई शुक्रबार बिहान ४ सय ५० ग्राम सुनजस्तो देखिने धातुसहित प्रहरीले पक्राउ गरेको हो ।
उक्त चेकप्वाइन्टमा सवारीसाधन जाँच गर्ने क्रममा वीरगन्जबाट आउँदै गरेको बा प्र ०३–००१ ख १७२७ नम्बरको बसमा सवार साहलाई जुत्ताभित्र लुकाई ल्याएको करिब ४ सय ५० ग्रामको सुनजस्तो देखिने धातुको ९ थान ब्रास्लेटसहित प्रहरीले पक्राउ गरेको हो ।
ना ५ ख ६२१७ नम्बरको बसमा सवार सिङलाई झोलाभित्र लुकाई ल्याएको करिब ४० ग्राम सुनजस्तो देखिने धातुसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।