नयाँ दिल्ली, २९ मङ्सिर
उत्तर प्रदेशका एक महिला न्यायाधीशले भारतका प्रधानन्यायाधीश डीवाई चन्द्रचुडलाई इच्छा मृत्युको माग गर्दै पत्र लेखेकी छन् । यी महिला न्यायाधीशले एक वरिष्ठ न्यायाधीशमाथि ‘यौन उत्पीडन’ गरेको आरोप लगाउँदै आफूले न्याय पाउन नसकेको बताएकी छन् ।
जिल्ला न्यायाधीशले आफूमाथि यौन दुर्व्यवहार गरेको र राति भेट्न दबाब दिएको यी महिला न्यायाधीशको आरोप छ । उनले २०२२ मा इलाहाबाद उच्च न्यायालयका मुख्य न्यायाधीश र त्यसपछि प्रशासनिक न्यायाधीशसमक्ष उजुरी गरे पनि न्याय नपाएको आरोप लगाएकी छन् ।
महिला न्यायाधीशले जुलाई २०२३ मा आन्तरिक गुनासो समितिमा पनि उजुरी गरिन्। आफ्नो पत्रमा महिला न्यायाधीशले लेखेकी छिन्, ‘हजारौँ इमेलपछि बल्ल ६ महिनापछि अनुसन्धान सुरु हुन सक्यो ।’
उजुरीकर्ता महिला न्यायाधीशले अनुसन्धान पूरा नभएसम्म जिल्ला न्यायाधीशको सरुवा गर्न माग गरेकी छन् । उनले यस मुद्दाका साक्षी जिल्ला न्यायाधीशका कनिष्ठ कर्मचारी भएकाले आरोपित पदमा रहँदा स्वतन्त्र रूपमा आफ्नो धारणा राख्न नसक्ने बताएकी छन् । उजुरीकर्ताले जिल्ला न्यायाधीशको सरुवाका लागि सर्वोच्च अदालतमा निवेदन समेत दिएका थिइन् । तर ुआफ्नो निवेदन ८ सेकेन्डमै खारेज भएकोु उनले आरोप लगाइन्।
पत्रमा महिला न्यायाधीशले लेखेकी छिन्, ‘अब यो अनुसन्धान र सबै साक्षी जिल्ला न्यायाधीशको नियन्त्रणमा हुने गरी सञ्चालन हुनेछन् । हामी सबैलाई यस्तो अनुसन्धानको नतिजा थाहा छ।’
आफ्नो पत्रमा महिला न्यायाधीशले यी सबै कारणले अब बाँच्ने इच्छा नरहेको बताएकी छन् । महिला न्यायाधीशले लेखेकी छिन्, ‘पछिल्लो डेढ वर्षमा म जिउँदो लास बनेको छु । मेरो जीवनमा अब कुनै उद्देश्य बाँकी छैन।’ त्यही कारणले सर्वोच्च अदालतमा इच्छा मृत्युको माग गरेको उनको भनाइ छ । -एजेन्सी