चितवन, १४ मङ्सिर
मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा आमा-छोरीको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार ३४ वर्षीया रूपा स्याङतान र अन्दाजी ४ महिने छोरी रहेका छन् । मकवानपुरगढी गाउँपालिका-२ धवाडीपुलस्थित भित्री सडकमा आमा-छोरीको मृत्यु भएको हो ।
सुकौराबाट कान्तिलोकपथतर्फ जाँदै गरेको प्रदेश ३-०२-०१२ प ६९११ नं.को मोटरसाइकल आफैं अनियन्त्रित भएर पुलछेउबाट अन्दाजी १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।
दुर्घटनामा चालक भीमबहादुर स्याङतानको टाउकोमा गम्भीर चोट लागेको छ। उपचारका लागि अहिले उनलाई हेटौंडा अस्पतालबाट चितवनस्थित पुरानो मेडिकल कलेज ल्याइएको छ।