चितवन, कार्तिक १८
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले चिकित्सकसहितको टोली भुकम्प प्रभावित क्षेत्रमा पठाएको छ । अनेरास्ववियुका सचिव डा. सुजन कडरियाको नेतृत्वमा मेडिकल टोली परिचालन गरेको हो ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर मध्यरातमा गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा गरी एक सय ६० बढीको मानवीय क्षति भएको छ भने भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ बढी घाइते भएका छन् ।
अनेरास्ववियुले स्वास्थ्य सामग्रीसहित त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का सभापति आनन्द सिंह, अनेरास्ववियुका केन्द्रीय सचिव डाक्टर सुजन कडरिया र एनएमएसएमा आवद्ध स्वास्थ्यकर्मीसहितको टोली त्यसतर्फ पठाएको अनेरास्ववियुका अध्यक्ष समिक बडालले जानकारी दिनुभयो । टोलीमा अनेरास्ववियुका सचिव सन्जिव धितालसहित हुनुहुन्छ । धितालसहितको टोली यहाँबाट नेपालगञ्जहुँदै जाजरकोटतर्फ लागेको छ ।
‘अहिले हामी बाँकेबाट जाजरकोटतर्फ जाँदैछौँ,’ टोलीमा रहनु भएका धितालले भन्नुभयो, ‘हामी रातभरीको यात्राबाट जाजरकोट पुग्ने छौँ र उद्धारकार्यमा खट्ने छौँ ।’ कर्णाली प्रदेशका अनेरास्ववियुका संयोजक ललितजंग मल्ल पनि टोलीमा हुनुहुन्छ ।
अनेरास्ववियुले आज आकस्मिक बैठक बसी सम्पूर्ण कमिटीलाई राहत तथा उद्धारमा खट्न निर्देशन दिएको छ ।