चितवन, कार्तिक १७-
चितवनमा लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित चार जना पक्राउ परेका छन् ।
जिल्लाका छुट्टा छुट्टै स्थानबाट उनीहरु पक्राउ परेका हुन् । उनीहरुको साथबाट लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १३.०८ ग्राम बरामत समेत भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका १७ स्थित गाँजिपुरका २८ बर्षिय रोशन तामाङ, सोही ठाउँका प्रेम बहादुर तामाङ, कालिका नगरपालिका ६ का अजय कुमाल र कालिका वडा नम्बर ७का शिव श्रेष्ठ रहेका छन् । रोशन र प्रेमलाई कार्तिक १५ गते ईलाका प्रहरी कार्यालय फुलबारी चितवनबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो । उनीहरुको चेकजाँचको क्रममा उनीहरुको साथबाट लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५.०८ ग्राम फेला परेको चितवन प्रहरीले जानकारी दिएको छ ।
यस्तै कुमाल र श्रेष्ठ हिजो(बिहिबार) राप्ती नगरपालिकाबाट प्रक्राउ परेका हुन् । पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा मोटरसाइकल चेकजाँच गर्ने क्रममा खैरो हेरोइन भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुले ना ५६ प २१०९ नम्बरको बुलेट मोटरसाईकलको ट्याङकीको तलपट्टीको भागमा ८ ग्राम खैरो हेरोईन जस्तो पदार्थ लुकाएका थिए । घट्नाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।