भरतपुर । चितवनका पत्रकार किशोर खनालको फिचर समाचारले पहिलो पुरस्कार जित्न सफल भएको छ । ‘लेडको प्रयोगले बालबालिकाको सर्वाङ्गीण विकासमा असर’ भन्ने शीर्षकको खनालको फिचर समाचारले देशभरबाट पहिलो पुरस्कार जित्न सफल भएको हो ।
दुई हजार शब्दको यो फिचर समाचार असोज २४ गते बुधबार चितवन पोष्ट पत्रिकामा र चितवन पोष्टकै अनलाइन संस्करण ‘ई–चितवन पोष्ट डटकम’मा पनि प्रकाशित भएको थियो । बालबालिकाले प्रयोग गर्ने विभिन्न किसिमका खेलौना तथा पेन्ट्सहरुमा लेड (सिसा)को अत्यधिक प्रयोग भइरहेको र यसले बालबालिकाको शारीरिक, मानसिक र बौद्धिक विकासमा गम्भीर असर पारिरहेको विषयमा खनालले चितवन पोष्टका लागि फिचर समाचार लेखेका थिए ।
उनलाई लेडको विषबाट बचावटका लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताहको अवसरमा सम्मान गरिन लागिएको छ । पहिलो पुरस्कार जितेबापत खनालले नगद २० हजार रूपैयाँ र सम्मानपत्र पाउनेछन् भने काठमाडौँमा हुने दुईदिने लेडसम्बन्धी अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुने अवसर पनि प्राप्त गर्नेछन् । यसबाहेक उनलाई विभिन्न उपहारबाट सम्मान गरिने जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र ललितपुरले जनाएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अन्तर्राष्ट्रिय प्रतिनिधि, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि तथा जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका प्रतिनिधिहरुबाट खनाल सम्मानित हुनेछन् ।