काठमाडौं असोज २५,
नेपाल एयरलाइन्सको विमान बिहीबार दिउँसो इजरायलको तेल अभिभ पुगेपछि त्यहाँ उद्धारको पर्खाइमा रहेका नेपाली विद्यार्थीमा खुसियाली छाएको छ । उनीहरू सो विमानस्थलमा पुगिसकेका छन् ।
“एक हप्तादेखि ट्रममा थियौँ । अहिले हामीलाई लिन आएको जहाज नै देखेपछि खुसी छौँ,” इजरायलको बेन गुरियन विमानस्थलमा रहेका दाङका विद्यार्थीले भने, “मनमा डर अझै बाँकी छ ।”
‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि विषयको ११ महिने इन्टर्नसिपका लागि उनी इजरायल गएका थिए ।
प्यालेस्टाइनी लडाकु समूह हमासले गएको शनिबार एक्कासि इजरायलमा आक्रमण गरेपछि त्यहाँको माहोल बिग्रिएको छ । हमासको आक्रमणमा परी विपीनसँगै इजरायल गएका उनका १० साथी मारिएका थिए ।
युद्ध चर्कंदै गएपछि विशेष गरी हमास नियन्त्रित क्षेत्र गाजाको सीमानजिक रहेका नेपालीले उद्धार गर्न नेपाल सरकारलाई अनुरोध गरेका थिए । सरकारले आज उद्धारका निम्ति नेपाल एयरलाइन्सको विमान त्यसतर्फ पठाएको हो ।
“इजरायलको विमानस्थलमा उद्धारको पर्खाइमा रहेका अर्का नेपाली विद्यार्थी लुइस रिजाल अब स्वदेश फर्कनेमा ढुक्क देखिन्छन् ।
“हामीलाई त जीवनदान गरेर सकुशल नेपाल पठाउनुभयो, अब इजरायलमा भएका घाइते मेरा प्रिय साथीहरूलाई हरदम साथ र सहयोग दिन र मेरो हराएको साथीलाई खोजी नेपाल आमाको अधुरो कोख भरिदिनुहुनेछ भन्ने आशा राखेका छौँ,” रिजालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
उनले हमासको आक्रमणपछि उद्धारमा निरन्तर प्रत्यक्ष–अप्रत्यक्ष सहयोग, हौसला, आत्मविश्वास प्रदान गर्ने सबैलाई हृदयदेखि नै नमन गरेका छन् ।