काठमाडाैं असोज १
नेपालीले अष्ट्रेलियामा सञ्चालन गरेको डिजिटल मार्केटिङ कम्पनी उत्कृष्टमा पर्न सफल भएको छ । अष्ट्रेलिया बस्ने नेपालीमूलका यूवाले सञ्चालनमा ल्याएको कम्पनी ‘डिजिटल एल्गोरिदम’ २०२३ अन्तर्गत सिड्नीको स्थानीय व्यवसायलाई दिइने सम्मानका लागि उत्कृष्टमा परेको हो । सिड्नीको माउण्ट ड्रुइट सेन्ट मेरिज क्षेत्रमा रहेको डिजिटल मार्केटिङ कम्पनी आफ्नै क्षेत्रमा रहेका नयाँ व्यवसायहरूमध्येबाट छानिएर उत्कृष्टहरूमा परेको हो ।
‘डिजिटल एल्गोरिदम’ले अष्ट्रेलियामा वेब डिजाइनिङ, वेब डेभलपमेन्ट, सर्च इन्जिन अप्टिमाइजेसन, ब्रान्डिङका साथै सम्पूर्ण डिजिटल मार्केटिङको काम गर्दछ । गत वर्षदेखि सञ्चालनमा आएको कम्पनीले अष्ट्रेलियामा बिजनेस, माइग्रेसन, त्यहाँको अध्ययन, करिअर विकास लगायतका क्षेत्रमा १० भन्दा बढी अनलाइन मिडिया सञ्चालन गरिरहेको बिजनेस डेभलपमेन्ट म्यानेजर मदनमणि अधिकारीले बताए ।
‘डिजिटल एल्गोरिदम’ले सिड्नीमा १५ हजारभन्दा बढी साना व्यवसायी तथा ट्रेडी (सीप व्यवसायी)लाई बजार, व्यवसाय प्रबर्द्धन, ब्रान्डिङ लगायतका क्षेत्रमा सहयोग पुर्याउँदै आएको उनको भनाइ छ ।
साथै कम्पनीले नेपाली समुदायका व्यवसायीका लागि सुपथ र सुलभ रूपमा डिजिटल सेवाहरू प्रदान गर्ने जनाएको छ ।
नेपालमा पनि सेवा विस्तार
‘डिजिटल एल्गोरिदम’ले छिट्टै नेपालमा पनि नेपाली व्यवसायी तथा अन्तर्राष्ट्रिय बजारमा आफ्ना सेवा पुर्याउन चाहनेहरूलाई सहयोगी हुने गरेर सेवा विस्तारको योजना बनाएको बिजनेस डेभलोपमेन्ट म्यानेज अधिकारीले बताए ।
उनले नेपालबाट नेपाली व्यवसायीले पाउन नसक्ने खालका ‘पेमेन्ट’ लगायतका समस्या हटाउने गरेर सेवा सञ्चालनको योजना रहेको उल्लेख गरे । अष्ट्रेलिया बस्ने नेपाली मार्केटर, सफ्टवेयर इन्जिनियरहरूले सञ्चालन गरेको कम्पनीले अहिले नेपालमा आउटसोर्सिङको माध्यमबाट रोजगारीको सिर्जना गरिरहेको छ ।