मकवानपुर, २९ भदौ
सहकर्मी कुटिएपछि हेटौंडाका सरकारी तथा निजी अस्पतालका ७८ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । प्रहरी, प्रशासनलगायत सरोकारवालासँगको छलफलमा सुरक्षा माग गर्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।
हेटौँडा अस्पतालका डाक्टर हरि खड्काका अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डाक्टर रामचन्द्र सापकोटालाई सामूहिक राजीनामा पत्र बुझाएका हुन् । उनका अनुसार राजीनामा दिनेमा हेटौंडा अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीसहित अन्य अस्पतालका पनि छन् । ‘हामीले घटना घटेको ४८ घण्टासम्म कुर्यौँ । तर, पीडितले न्याय पाउने छाँट नदेखिएपछि राजीनामा दिने निर्णयमा पुगेका हौँ’, डाक्टर खड्काले भने, ‘असुरक्षामा हामीले कसरी काम गर्ने ? दोषीमाथि कारबाही नभएसम्म हामी आन्दोलन गर्छौं ।’
दोषीलाई कारबाहीको दायरामा नल्याएसम्म आजदेखि आकस्मिकबाहेक हेटौँडा अस्पतालका सबै सेवा बन्द गरी चिकित्सक/स्वास्थ्यकर्मी आन्दोलनमा उत्रेको उनले बताए । डेङ्गु रोगबाट सङ्क्रमित हेटौँडा–१२ पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरवाही गरेको भन्दै दुई चिकित्सकमाथि बुधबार हातपात तथा कुटपिट भएको थियो । चिकित्सकमाथि अस्पताल कक्षमा हातपात र कुटपिट गर्ने चार जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
कुटपिटमा संलग्न प्रधानकी श्रीमती र छोरीसहित अन्य दुई जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।