दिव्यनगर, वैशाख २०–
भरतपुर महानगरमा एमाले र राप्रपाबीच तालमेल हुँदा वडा नम्बर १५ र २६ मा वडा अध्यक्ष राप्रपालाई दिने सहमति भएको थियो । भरतपुर–१५ मा तालमेल भै एमालेले आफ्नो उम्मेदवारी फिर्ता गरेपनि २६ नम्बर वडामा एमालेले आफ्नो उम्मेदवारी फिर्ता गरेको थिएन ।
राप्रपासँग गरेको सहमति अनुसार वडा नं २६ मा उम्मेदवारी फिर्ता गर्न जिल्ला नेतृत्वले पहल गर्दा पनि छलफल सकारात्मक भएन । अन्ततः एमाले र राप्रपाले यहाँ स्वच्छ प्रतिष्पर्धा गरेर निर्वाचनमा जान दुबै पक्ष सकारात्मक भएको एमाले चितवनका प्रचार विभाग प्रमुख रविकिरण पौडेलले बताए ।
’महानगरमा भएको तालमेल अनुसार मेयर–उपमेयरमा मत हाल्न यहाँ कुनै विवाद छैन । तर वडास्तरमा एमाले र राप्रपाले आ–आफ्ना उम्मेदवारलाई जिताउन घरदैलो गरिसकेका छन्’ प्रचार विभाग प्रमुख पौडेलले भने ।
स्वच्छ प्रतिस्पर्धा हुने भएपछि एमाले र राप्रपाले छुट्टाछुट्टै घरदैलो र चुनावी सभालाई तीब्रता दिएका छन् । एमालेले आज मंगलबार दिव्यनगरमा गरेको घरदैलो र चुनावी सभामा पनि उत्साहजनक सहभागिता थियो ।
यस वडामा एमाले, कांग्रेस, राप्रपा र माओवादीले छुट्टा–छुट्टै रुपमा वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् । एमालेबाट वडा अध्यक्षमा भुपाल कडेल, खुल्ला सदस्यमा इन्द्रबहादुर कुमाल र रामप्रसाद चौधरी, महिला सदस्यमा लक्ष्मी खनाल र दलित महिला सदस्यमा आरती विक प्रतिष्पर्धामा उत्रिएका छन् ।
गठबन्धनका उम्मेदवारले समेत आ–आफ्नो ढङ्गले प्रतिष्पर्धा गर्ने भएपछि एमालेले निर्वाचन जित्ने वडा अध्यक्षका उम्मेदवार भुपाल कडेलको दावी छ ।