रत्ननगर, २० वैशाख-
नेकपा एमालेको तर्फबाट रत्ननगर नगरपालिकाको मेयर पदकी उम्मेदवार विमला दुवाडीले रत्ननगर नगरपालिकाले पहिलो महिला मेयर पाउन लागेको दाबी गर्नुभएको छ ।
रत्ननगरको वडा नम्बर ७ मा भएको एमालेको घरदैलो कार्यक्रमको कोणसभामा बोल्दै दुवाडीले रत्ननगरमा पहिलो पटक महिला मेयर निर्वाचित हुन लागेकोले नगरवासी उत्साहित भएको बताउनुभयो । दुवाडीले उपमेयर हुँदा महिला स्वास्थ्य, उद्यमशीलता स्वरोजगार तथा न्यायिक मामलामा धेरै काम गरेको भन्दै गर्न बाँकी रहेको अधुरा काम आफू मेयर भएपछि पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
‘गर्न सक्ने काम मात्र बोल्छु, नसक्ने काम गर्छु भनेर झुटो आश्वासन दिने काम गर्दिनँ, मेयर भएपछि हरेक ६÷६ महिनामा प्रत्येक वडामै गएर महिलाहरुको निःशुल्क पाठेघर र स्तन क्यान्सरको परीक्षण गर्ने ज्यवस्था गर्छु’ दुवाडीले भन्नुभयो, ‘मेयरमा पुरुष हुँदा महिलाको वास्तविक समस्या बुझ्न कठिन हुन्छ, म मेयर भएपछि महिलाहरुलाई भएको हरेक समस्यालाई विशेष ख्याल गरेर समाधान गर्छु ।’