जनकपुरधाम, २४ साउन
धनुषाको कमला नदीमा बाध कटान हुन थालेपछि मर्मत गर्न थालिएको छ । सुरक्षा निकायसहितको टोलीले तारजालीमा ढुंगा राखेर बाध जोगाउन काम थालेको हो ।
गणेशमान चारनाथ नगरपालिका–७ पोर्तहास्थित पूर्व–पश्चिम राजमार्गभन्दा उत्तर ५० मिटर बाध कटान हुने जोखिम बढेको थियो । त्यहाँ जलसतह बढेपछि बाधमा असर पुर्याएको थियो । कमला सिचाइँ व्यवस्थापन कार्यालय पोर्तहा, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रही मिलेर बाध मर्मत गरेका हुन् ।
मधेसमा तीन दिनदेखि वर्षा भइरहेको छ । कमला नदीमा चुरे पहाडको पानीसमेत आउने गरेको छ । उदयपुर र सिन्धुलीको पानीले कमलामा पानीको बहाब बढ्ने गरेको छ ।
बुधबार धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दहालले जोखिम क्षेत्रमा निरीक्षण गरेका छन् । उनले सबै निकायसँग समन्वय गरेर बाध जोगाउने काम गरिरहेको बताए ।
कमला सिचाइँ व्यवस्थापन कार्यालय पोर्तहाका प्रमुख वीरेन्द्र यादवले बाध कटान भए चारवटा पालिका जोखिममा पर्न सक्ने बताए । उनले बाध पुरानो भएकाले कटान हुने गरेको पनि बताए ।
उनका अनुसार बाध ४८ वर्ष पुरानो हो । विसं २०१८ सालदेखि बाध निर्माणको काम सुरु भए २०३२ सालमा पट्ठरा भएको थियो । यद्यपि यसबीचमा बाध मर्मत सम्भारको काम हुने गरेको थियो । साढे १२ हजार हेक्टर धनुषातर्फ र सोही बराबर सिरहातर्फ बाध बाधिएको छ ।
मंगलबार नदीमा डुबेर धनुषामा एकजना किशोरको मृत्यु भएको थियो । दुईजना बेपता भएका थिए । बाध कटान भएकै ठाउँबाट बेपता भएका गणेशमान चारनाथ नगरपालिका ७ का ३५ वर्षीय साजन परियार र उनकी श्रीमती ३० वर्षीया माया परिवार अझै फेला परेका छैनन् ।