काठमाडौं, २१ साउन
सुन प्रकरणको अनुसन्धान गर्ने जिम्मा प्रहरीले पाएको छ।
राजश्व अनुसन्धान विभागले आइतबार थप अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई दिएको हो। यसको सम्पूर्ण अनुसन्धानको जिम्मा प्रहरीलाई दिएसँगै मिसिल र पक्राउ परेका अभियुक्तहरूलाई प्रहरी प्रधान कार्यालय नक्साल लगिएको छ।
प्रहरी प्रधान कार्यालय नक्साल पुर्याएपछि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई जिम्मा दिन लागेको हो।
अनौपचारिक रूपमा सिआइबीले शनिबारदेखि नै अनुसन्धान थालिसकेको छ।
विभागले राजश्व छली कसुरमा अनुसन्धान गरिरहेको थियो। तर यसमा संगठित अपराध, अन्तर्देशीय अपराध पनि देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थप अनुसन्धान गर्ने जिम्मा सिआइबीलाई दिन निर्देशन दिएका थिए।
त्यसपछि नै विभागले प्रहरी र महान्यायाधिवक्ता दिनमणि पोखरेलसँग छलफल गरी प्रहरीलाई अनुसन्धान गर्ने जिम्मा दिएको हो।
प्रहरीलाई बुझाउनुअघि विभागका महानिर्देशक नवराज ढुंगानाले पत्रकार सम्मेलन गरेका थिए। पत्रकार सम्मेलनमा अनुसन्धान पेचिलो बन्दै गएको र यसमा राजश्व छली बाहेक अन्य अपराध पनि भएको देखिएकाले प्रहरीलाई जिम्मा लगाएको बताएका थिए।
विभागले अहिलेसम्म यस प्रकरणमा १८ जनालाई पक्राउ गरेको छ। जसमध्ये एक जना हाजिर जमानीमा छुटेका छन्।
तस्बिरहरू: