चितवन, २१ साउन
चितवनका ५१ जना भारतीय भूपू सैनिकलाई ‘वरिष्ठ योद्धा सम्मान’द्वारा सम्मानित गरिएको छ ।
भारतको महावाणिज्य दूतावास वीरगन्ज र भूपू सैनिक कल्याणकारी क्लबद्वारा संयुक्त रुपमा शनिबार आयोजित सो कार्यक्रममा ८० वर्षमाथिका भारतीय भूपूसैनिकलाई सम्मान गरिएको थियो ।
सो अवसरमा पूर्वजर्नेल डा प्रेमसिंह बस्न्यातले भूपू सैनिकले पुर्याएको योगदानलाई नेपाल र भारत दुवैले सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले भूपूसैनिकहरूले दुई देशको सम्बन्धलाई सुमधुर राख्नका लागि पुलको भूमिका खेलेको बताउनुभयो ।
भारतको महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत नितेश कुमारले भूपू गोर्खा सैनिकलाई भारत सरकारले निरन्तर सम्मान गरिरहने बताउनुभयो । दूतावासले पहिलोपटक सम्मानको कार्यक्रम आयोजना गरिएको जनाउँदै यसलाई निरन्तरता दिने बताउनुभयो । (रासस)