चितवन, साउन १४
भरतपुर महानगरपालिकाले महानगरभित्र रहेका २९ विद्यालयमा अध्ययनरत दुई सय ८३ विद्यार्थीका लागि छात्रवृत्ति वितरण गरेको छ ।
भरतपुर महानगरपालिकाअन्तर्गत संस्थागत विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुका लागि छात्रवृत्ति वितरण गरिएको हो । छात्रवृत्ति प्राप्त गर्नेमा एक सय ४६ छात्रा र एक सय ३७ छात्र रहेका छन् । महानगरपालिकाले अनलाइनमार्फत निवेदन माग गरेको थियो ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आज यहाँ आयोजना गरेको छनोटमा परेका विद्यार्थीहरुलाई सिफारिस पत्र तथा शुभकामना प्रदान कार्यक्रमका बीच छात्रवृत्ति प्रदान गरेको हो ।
महानगरले हरेक वर्ष प्रदान गर्ने ५ प्रतिशत छात्रवृत्तिमा सिफारिसमा परेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । छात्रवृत्तिका लागि आठ सय १९ विद्यार्थीको आवेदन परेको थियो ।