भरतपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले भरतपुर महानगरपालिका वडा नं-१० निवासी दुई जना अपाङ्गता भएकालाई ह्विलचियर वितरण गरेका छन् ।
ग्रीन सोसाइटी नेपालको सहयोग तथा मन्त्री जोशीको समन्वयमा ७५ वर्षीय कृष्णबहादुर श्रेष्ठ र ७१ वर्षीय मेघबहादुर आलेलाई ह्विलचियर वितरण गरिएको हो ।
मन्त्री जोशीले प्रदेशसभा निर्वाचनका क्रममा गरेको प्रतिबद्वताअनुसार सो सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री जोशीले अपाङ्गता भएका र अशक्तको पक्षमा बागमती प्रदेश सरकार जिम्मेवाररूपमा लागिपरेको बताए । उनले भने, ‘प्रदेश सरकार जनताको पक्षमा छ भन्ने अनुभूति हुनेगरी स्वास्थ्य मन्त्रालयले काम गरेको छ ।’
स्वास्थ्य क्षेत्रमा देखिनेगरी काम गर्न मन्त्रालय लागिपरेको उनको भनाइ छ । प्रदेश सरकारका तर्फबाट जनतालाई प्रत्यक्षरूपमा लाभ पुग्ने २५ वटा नयाँ कार्यक्रम सुरू गर्न लागेको उनले जानकारी दिए । हुनेखानेको पहुँचमा रहेको स्वास्थ्यसेवालाई हुँदाखानेको पहुँचसम्म पु¥याउनेतर्फ प्रदेश सरकार लागेको उनले बताए ।
कार्यक्रममा नेपाली कांग्रेस चितवनका नेता डिल्लीराम सापकोटा, कांग्रेस भरतपुर महानगरपालिका वडा नं—१० का सभापति गणेशबहादुर गुरूङ, दोभान कालिका नमुना टोलका अध्यक्ष दिवाकर ढकाल, महिला अध्यक्ष रमा सापकोटालगायतको उपस्थिति रहेको थियो ।