– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, असार २७ –
ढुंगामा पकाइने मासुका परिकार खुवाउनका लागि भरतपुर १० को स्याउली बजारमा जापानीज चेन रेष्टुरेण्ट याप्पारी स्टेकको आउटलेट खुलेको छ ।
जापानबाट फर्केका भरतपुर महानगरपालिका–१४ शिवनगरका युवा कृष्ण पौडेलले सो रेष्टुरेण्ट खोलेका हुन् ।
९ वर्ष जापान बसेर स्वदेश फर्किएका पौडेलले जापानमा सिकेको सीप नेपालमा प्रयोग गर्न लागेका हुन् । जापानमा प्रख्यात रहेको उक्त याप्पारीको फ्रेन्चाइज लिनको लागि मात्रै एक करोड रुपैयाँ खर्चिएको र होटल निर्माणका लागि अर्काे एक करोड गरी कुल दुई करोड लगानी उक्त होटल खोल्दा लागेको उनी बताउँछन् ।
पौडेलका अनुसार खसी, कुखुरा र बुंगुरका मासु ढुंगामा पकाइन्छ र त्यसलाई सससँग वा हल्का मसला मोलेर खान सकिन्छ । ‘ससको फ्लेवर जापानमा जे छ यहाँ पनि त्यही बनाइने उनले जानकारी दिए । पौडेलले मासु पकाउने ढुंगा पनि जापानबाटै ल्याएका छन् । उक्त ढुंगालाई २५० डिग्रीमा तताएर करिब पाँच मिनेटमा मासु पकाइन्छ ।
आफू बसेको टेबल अगाडि पनि मासु पोलेर खान सकिने व्यवस्था गरिने पौडेलले बताए । उक्त याप्पारी स्टेक रेष्टुरेण्टमा ३२ जनाले एकै पटक बसेर खान मिल्छ ।
उक्त रेष्टुरेण्टको उद्घाटन पर्सि २९ गते हुँदैछ । पर्सि हुने उद्घाटन कार्यक्रममा जापानबाट याप्पारी स्टेकका मालिक चितवन आइसकेका छन् । जापानमा यसका १२० वटा आउटलेट छन् । जापान बाहिर पहिलो पटक यहाँ आउटलेट खुलेको हो । अष्ट्रेलिया र चीनमा आउटलेट खुल्ने चरणमा रहेको पौडेलको भनाइ छ ।