काठमाडाैं असार २५,
भारतका विभिन्न ठाउँमा लगातारको वर्षासँगैको बाढीले जनजीवन प्रभावित भएको छ । बाढीका कारण दिल्लीदेखि सिमलासम्मको जनजीवन प्रभावित भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
अविरल वर्षापछिको बाढी पहिरोमा परेर ३४ जनाको मृत्यु भएको छ। हिमाचलमा ११, उत्तर प्रदेशमा ८, उत्तराखण्डमा ६, दिल्लीमा ३, जम्मु–कश्मीर, हरियाणा र पञ्जाबमा २–२ जनाको मृत्यु भएको समाचार उल्लेख छ ।
पछिल्लो २४ घण्टामा मात्रै बाढी पहिरोमा परेर २३ जनाले ज्यान गुमाएका छन् ।
देशभरका ठाउँठाउँमा सडक अवरुद्ध भएका छन् ।
यता भारतले धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोल्ने भएपछि महाकाली नदी किनारका बासिन्दालाई पूर्व सतर्कता अपनाउन दार्चुला प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना जारी गर्दै असार २६ गते बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म र त्यसपछि पनि सतर्कता अपनाउन आग्रह गरेको हो ।
भारतको एनएचपीसी लिमिटेड र धौलीगंगा पावर स्टेशनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गर्दै धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोल्न लागिएको जानकारी गराएका छन् ।
सिल्ट सफाइका लागि असार २६ गते बिहान ५ बजेदेखि राति ८ बजेसम्म बाँध खोल्न लागिएको पत्रमा उल्लेख छ ।
भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा पर्ने धौलीगंगाको बाँध खोल्दा दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकाली नदीको जलस्तर बढ्दछ । त्यसैले महाकाली नदी किनारमा बसोबास गर्दै आएका बासिन्दालाई बाँध खोलिने अवधिभर र त्यसपछि पनि सतर्कता अपनाउन दार्चुला प्रशासनले अनुरोध गरेको छ ।