– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, असार १७ –
यस वर्ष पनि मनसुन सुरु भएसँगै नारायणगढ मुग्लिन सडकखण्डमा पहिरोले सास्ती दिन थालेको छ ।
दुईदिन अघि इच्छाकामना गाउँपालिका ५ स्थित ३ नम्बर पुलमा खसेको पहिरोले ३१ घण्टासम्म सडक अवरुद्ध गराएको थियो । त्यसपछि पनि पुनः सानातिना पहिरा खस्ने र सडक केही घण्टा अवरुद्ध हुने क्रम चलिरह्यो ।
३१ घण्टा अवरुद्ध भएर सञ्चालनमा आएको दुई दिनपछि हिजो राति १ बजे पुनः ३ नं. पुलमै ठूलो पहिरो खस्यो । उक्त पहिरोका कारण सडक अहिले साँझ ६ बजेसम्म अवरुद्ध छ ।
देशको राजधानी काठमाडौँसँग जोड्ने मुख्य सडकका रुपमा रहेको नारायणगढ मुग्लिन सडक अवरुद्ध हुँदा देशभरको ध्यान केन्द्रित हुन्छ । यस सडक भएर दैनिक १० हजारको हाराहारी सवारी आवातजावत गर्ने गर्छन् ।
वर्षेनी पहिरो गइरहने यस सडकखण्डमा सयौंको सँख्यामा सवारीहरुमा क्षति हुने गरेको छ । सयौं घाइते हुने गरेका छन् । कहिले काहीँ सवारी पहिरोमै पुरिँदा मानिसको ज्यान समेत जानेको गरेको छ ।
दुई दिन अघिमात्र माथिबाट खसेका ढुङ्गा लागेर मोटरसाइकल पल्टिनुका साथै, गाडीका सिसाहरु फुटेका थिए । केही मानिसहरु ढुङ्गा खस्दै गर्दा सवारी साधन छोडेर भाग्दै गरेका भिडियो पनि आएको थियो ।
दुई वर्ष अघि पहिरो रोकथामका लागि पहिरोको उच्च जोखिम क्षेत्र भनेर पहिचान गरिएका ३० वटा स्थानका पहाडमा तारजाली समेत लगाइएको थियो । अहिले तारजाली लगाएको भन्दा अन्य नयाँ स्थानबाट पहिरो गइरहेको सडक डिभिजन कार्यालयका इन्जिनियर सागर कार्कीले बताए ।
पहिरो पन्छाउने काममा खटिएका इन्जिनियर सागर कार्कीले नारायणगढ–मुग्लिन सडकखण्डको भौगोलिक संरचना नै कमजोर रहेकाले वर्षेनी पहिरो खस्ने गरेको बताए । यसका साथै स्थानीय निकायले सडक माथिका डाडाँहरुमा जथाभावी खनेर सडक बनाउँदा पहिरो खस्ने क्रम झन् बढेको उनको भनाइ छ । साथै सडकखण्डमा १५ वटा नयाँ पुल बन्दै गरेका ठाउँमध्ये भित्तो काटिएका ठाउँमा पहिरो खस्न सक्ने जोखिम ठानी सावधानी अपनाइएको कार्कीले बताए ।
मौरी पुल र १८ किलोको पहिरो न्युनिकरणका लागि सडक विभागको विज्ञ टोली आएर अध्ययन गरेर गइसकेको र यसैवर्षबाट काम सुरु गर्ने योजना रहेको उनले बताए ।
सडक डिभिजनले पहिरो पन्छाउन भनेर उच्च जोखिम रहेको स्थानमा २ वटा एक्साभेटर तयारी अवस्थामा राखेको छ ।
पहिरो गएर सडक अवरुद्ध भएपछि हजारौं यात्रु अलपत्र पर्ने गरेका छन् । ती अलपत्र परेका यात्रुहरुले आफूहरुले साह्रै दुखः पाएको र यहाँका व्यापारीले आफूहरुको दुखलाई फाइदा उठाएर ठगीको व्यापार गरिरहेको गुनासो गरेका छन् ।
पहिले २०० पर्ने खानाको ४५०, २० रुपैयाँ पर्ने एउटा चाउचाउको ५० रुपैयाँ, २० पर्ने पानीको ४० रुपैयाँ, ५ पर्ने आलुचपको २० रुपैयाँसम्म लिएर त्यहाँका व्यापारीले यात्रुहरुलाई ठग्ने गरेको गुनासो गरेको छन् ।
साथै पहिरो कुन बेला खुल्ने हो त्यसको जानकारी दिन, अनि यात्रुहरुलाई केही मर्का परेको छ की भनेर बुझ्न राज्यका कुनै पनि निकाय नआउँदा आफूहरुलाई यो देशमा सरकार नै नभएको अनुभव भएको विचल्लिमा परेका यात्रुहरुको गुनासो छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुरेन्द्र पौडेलले यात्रुहरु ठगिएको गुनासो आएको बताउँदै कालोबजारी गर्न खोज्नेलाई कारबाही गरिने बताएका छन् । साथै उनले जाममा परेका सवारीको व्यवस्थापन गर्नका लागि मानिसको वस्ती भएको क्षेत्रमा सवारी रोक्ने काम गरिएको बताए ।
उनले रातिको समयमा सकेसम्म यात्रा नगर्न, सडक लेनको पूर्ण पालना गर्न र पहिरो पन्छाउने टोलीसँग समन्वय गरेर मात्रै हिँड्न आग्रह गरेका छन् । यससँगै वैकल्पिक सडकमार्गको प्रयोग गर्न र पहिरो खसेको छ छैन यकिन गरेर मात्रै हिँड्न उनको सुझाव छ ।
तर दोश्रो पटक फेरि पहिरो गई लामो समयसम्म सडक अवरुद्ध हुँदा पनि प्रशासनको तर्फबाट स्थानीय पसलहरुमा कुनै अनगुगमन तथा कारबाही भएको पाइँदैन ।
नारायणगढ मुग्लिन सडक खण्डमा समयसमयमा विभिन्न विज्ञहरुले पहिरो रोकथामका लागि अध्ययन गरी विभिन्न सुझाव नदिएका पनि होइनन् । तर सुझावअनुसार पहिरो रोकथामका सबै काम गर्न नसकिएको उक्त सडकमा खटिने इन्जिनियरहरुले नै बताउने गरेका छन् ।