काठमाडौँ, १३ असार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरणको सफल अनुसन्धानबाट सरकारले कानून र लोकतन्त्रको सर्वोच्चता स्थापित दाबी गरेका छन् ।
बजेटमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले भने, ‘उच्चपदस्थहरू र देशको एउटा वर्ग कानूनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित भएको छ। यो काण्डको सफल अनुसन्धानसँगै अब लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण शुरू भएको छ।’
प्रधानमन्त्रीले यसलाई शुद्धीकरणको संज्ञा दिँदै अब यो क्रम नरोकिने दाबी गरे ।
उनले हिजोबाट प्रधानमन्त्री निवास (बालुवाटार) नै निल्न खोज्ने ललितानिवास काण्डका अभियुक्तहरू पक्राउ पर्न थालेको र मिटरब्याजी तथा सहकारीका ठगहरूमाथि पनि कारवाही शुरू भइसकेको बताए ।
वर्षौंदेखिको विकृतिको डुंगुर सफा गर्ने सुशासनको यो लडाईंमा आफूलाई संसद् र जनताको अझ धेरै समर्थन चाहिएको उनको भनाइ थियो ।
‘बेथितिको दुष्चक्र नभत्काएसम्म न देश अघि बढ्नेछ, न लोकतन्त्र । म संकल्प गर्छु, कुनै पनि मूल्यमा विकृतिको यो डुंगुर भत्काइछाडिनेछ । लोकतन्त्रसँग आफ्ना विकृति सच्याउने सामर्थ्य छ र सरकार त्यो दिशामा क्रियाशील छ, ’ उनले भने ।










