काठमाडौं असार ७,
चीनको उत्तरपश्चिमी निङ्जिया क्षेत्रमा रहेको एक व्यस्त बारबेक्यू रेस्टुरेन्टमा ग्यास ट्यांकी लिक भएको विष्फोटमा ३१ जनाको मृत्यु भएको छ । तीन दिने ड्रयागन बोट फेस्टिभलको पूर्वसन्ध्यामा बुधबार राति भएको घटनामा अन्य सातजना घाइते भएका छन् ।
निङ्जियाको राजधानी यिनचुआनमा बुधबार राति ८ बजेर ४० मिनेटमा लिक्विफाइड पेट्रोलियम ग्यासको ट्यांकी लिक भएर विस्फोट भएको थियो । घटनापछि अग्निनियन्त्रकहरू घटनास्थलमा पुगेका थिए ।
फायर डिपार्टमेन्टको सोधपुछका अनुसार दुई कर्मचारीले विस्फोट हुनुभन्दा करिब एक घण्टा अघि ग्यासको गन्ध आइरहेको बताएका थिए ।
ग्यास ट्यांकीको भल्भ भाँचिएको र त्यसको प्रतिस्थापन गर्ने क्रममा विस्फोट भएको बताइएको छ ।
प्रान्तीय अधिकारीहरूले रेस्टुरेन्टका प्रबन्धक र अन्य कर्मचारीसहित नौ जनालाई हिरासतमा लिएका छन् । रेस्टुरेन्टको सम्पत्ति रोक्का गरिएको छ ।
राष्ट्रपति सी चिनफिङले घटनामा घाइतेहरूको उपचार गर्न र सुरक्षा निगरानीलाई सुदृढ पार्न निर्देशन दिएका छन् ।