काठमाडाैं बैशाख २९,
एजेन्सी
पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई हिरासतमुक्त गर्न बिहीवार आदेश दिएपछि सरकारले त्यसको आलोचना गरेको छ ।
खान पक्राउपछि फैलिएको अशान्ति अझै केही समयसम्म जाने संकेत यसबाट पाइएको छ ।
खानलाई अर्धसैनिक बल रेन्जरका जवानहरूले यसै साता इस्लामाबाद उच्च अदालतको परिसरबाट नाटकीय ढंगले पक्राउ गरी हिरासतमा लिएका थिए । पक्राउको उक्त तरिका गैरकानूनी भएको बताउँदै सर्वोच्चले उनलाई रिहा गर्ने आदेश दिएको हो ।
शुक्रवार इमरान खान इस्लामाबाद उच्च अदालतमा पेश हुँदैछन् । अल–कादिर ट्रस्ट मुद्दामा उनीविरुद्धको सुनुवाइ चलिरहेको छ ।
उक्त अदालतमा इमरान पुग्नुअघि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
खानको दल पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई)का समर्थकहरूले उनीसँगको एक्यबद्धताका लागि इस्लामाबादमा शान्तिपूर्ण प्रदर्शन गर्ने बताइरहेका छन् । अदालतबाट बाहिर निस्केपछि खानले सम्बोधन गर्ने पीटीआईले जनाएको छ ।
यसैबीच इस्लामाबाद प्रहरीले बिहीवार अबेर राति एक विज्ञप्ति जारी गर्दै धारा १४४ अन्तर्गत सार्वजनिक रूपमा भेला हुन नपाउने प्रतिबन्ध अझै लागू गरिएको जनाएको छ । राजनीतिक कार्यकर्ताहरूलाई कानूनी प्रक्रियामा अवरोध नगर्न प्रहरीले अनुरोध गरेको छ ।















