चितवन वैशाख,१८
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक बढेसँगै राजश्व संकलन पनि बढ्न थालेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म निकुञ्जले १९ करोड ८ लाख ४३ हजार ८४४ रूपैयाँ राजश्व संकलन गरेको छ ।
निकुञ्जले गत आर्थिक वर्षमा ११ करोड ४९ लाख ९७ हजार ४१३ रूपैयाँ राजश्व संकलन गरेको थियो । चालु आर्थिक वर्ष अझै ३ महिना बाँकी रहेकाले गत वर्षको दोब्बर राजस्व संकलन हुने निकुञ्जको विश्वास छ ।
पछिल्ला दश वर्षमा सबैभन्दा बढी आर्थिक वर्ष २०७५/७६ मा २९ करोड ४४ लाख ६६ हजार ६३९ रूपैयाँ राजस्व संकलन भएको थियो ।
गत साउनदेखि चैत मसान्तसम्मको नौ महिनामा दुई लाख २१ हजार ५०३ पर्यटकले भ्रमण गरेका छन् । जसमध्ये एक लाख ५९ हजार ७०८ जना नेपाली, २२ हजार ३९० जना सार्क राष्ट्रका र ३९ हजार ४०५ जना अन्य देशका पर्यटक रहेका निकुञ्जले जनाएको छ ।
यसअघि गत आर्थिक वर्षमा १ लाख ९० हजार पर्यटकले निकुञ्ज घुमेका थिए । पछिल्लो १० वर्षमा सबैभन्दा कम आर्थिक वर्ष २०७२/७३ मा ८७ हजार ३९१ र कोरोना भाइरसको महामारी फैलिएको समय आर्थिक वर्ष २०७७/७८ मा ९८ हजार २ सय २८ पर्यटकले निकुञ्ज घुमेका थिए ।
पछिल्ला वर्षहरुमा विदेशीभन्दा स्वदेशी पर्यटकहरुले निकुञ्ज घुम्ने क्रम बढेको निकुञ्ज कार्यालयका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । कोभिड–१९ महामारीपछि विदेशीको संख्या पनि क्रमशः बढ्दै गएको छ ।
संकलित राजश्वको ५० प्रतिशत रकम निकुञ्जले मध्यवर्ती क्षेत्रमा खर्च गराउँदै आएको छ । वन्यजन्तुले मानव तथा मानववस्ती र खेतीबालीमा पुर्याएको क्षतिको क्षतिपूर्ति रकमसमेत दिँदै आएको छ । गत आर्थिक वर्षमा निकुञ्जले क्षतिपूर्तिस्वरुप १ करोड ५० लाख रुपैयाँ दिएको थियो ।