चितवन, बैशाख ११ –
भरतपुर महानगरमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबीच तालमेल हुने भएको छ ।
एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले राप्रपासँग तालमेल गर्ने गरी छलफल भइरहेको बताए । उनले आजै टुंगोमा पुग्ने र राप्रपाबाट उपमेयरमा उम्मेद्वार उठाउने गरी सम्झौता हुने उच्च संभावना भएको चितवन आजलाई बताए ।
भरतपुर महानगरमा राप्रपा समर्थकहरु थुप्रै छन् । भरतपुरमा पर्ने चितवन निर्वाचन क्षेत्र नं. ३ पूर्वमन्त्री तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेको निर्वाचन क्षेत्र हो । अघिल्लो पटकको निर्वाचनमा बिक्रम पाण्डे सांसदमा निर्वाचित भएका थिए ।
एमाले र राप्रपाबीच तालमेल भएपछि संयुक्तरुपमा यी दलले मेयर र उपमेयरमा उम्मेद्वार उठाउने छन् । मेयरमा नेकपा एमालेले विजय सुवेदीलाई उम्मेद्वार बनाएको छ भने राप्रपाले एमालेसँग सहमति भएपछि उम्मेद्वार टुंगो लगाउने छ ।