चितवन, चैत १२-
चितवनमा तोरी खेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ । पछिल्ला केही वर्षयता तोरी उत्पादन हुने क्षेत्रफल बढेसँगै उत्पादनमा पनि वृद्धि हुँदै गएको हो ।
तोरी उत्पादन हुने जिल्लाका रुपमा चिनिने चितवनमा खाने तेलको मुल्य वृद्धि भइरहेको बेला तोरी खेतीप्रति कृषकको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र चितवनको तथ्याङ्कले देखाउँछ ।
विगत केही समय तोरी उत्पादन घटेको थियो। तर हाल झन्डै १६ हजार हेक्टर क्षेत्रफलमा तोरीखेती भइरहेको कृषि ज्ञानकेन्द्र चितवनका सूचना अधिकारी मीनबहादुर पुनले जानकारी दिए।
बीचका समयमा खासै यसतर्फ तर्फ किसानले चासो दिएका थिएनन् तर पछिल्ला वर्षहरुमा विस्तारै उनीहरु यसतर्फ आकर्षित हुँदै गएका छन् । तोरी खेतीलाई जङली जनावरले पनि असर नगर्ने र छिटो उत्पादन लिने बाली भएकाले गहुँ लगाउने किसानहरु तोरीखेतीतर्फ आकर्षित भएका हुन् ।
केन्द्रको तथ्याङ्क अनुसार यस बर्ष १५ हजार ९ सय २४ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको थियो । यो गत वर्ष भन्दा दुई हजार ६५४ हेक्टरले बढी हो । गत वर्ष कुल १३ हजार दुई सय ७० हेक्टरमा तोरी खेती गरिएको थियो ।
आर्थिक वर्ष २०७७ – ७८ मा १२ हजार दुई सय ६० क्षेत्रफलमा तोरीखेती गरिएकोमा १२ हजार २ सय १८ मेट्रिक टन तोरी उत्पादन भएको थियो भने आर्थिक बर्ष २०७८ – ७९ मा १३ हजार २ सय ७० क्षेत्रफलमा तोरीखेती गरिएकोमा १४ हजार ८ सय ६२ मेट्रिक टन तोरी उत्पादन भएको थियो ।
त्यस्तै यस आर्थिक बर्ष २०७९ – ८० मा १५ हजार ९ सय २४ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएकोमा १९ हजार १ सय ८ मेट्रिक टन तोरी उत्पादन भएको छ । यसरी ३ बर्षको तथ्याङ्ग हेर्दा तोरी खेतिको क्षेत्रफल संगै उत्पादन पनि बढेको देखिन्छ ।
तेलको मुल्य वृद्धि हुँदा अहिले बजारमा तोरीले राम्रो भाउ पाएको छ । यही कारण तोरी खेतीप्रति कृषकको आकर्षण पनि बढेको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेको भनाइ छ ।“बजारमा एकातिर तेलको मुल्य बढेको छ, अर्कातिर तोरीले बजार भाउ पाएको छ, उनले भने, यही कारण तोरी खेतीप्रती कृषकहरु आकर्षित भएका हुन् ।”चितवनको माडी, बछ्यौली, पदमपुर, शुक्रनगर, मेघौली जितपुर क्षेत्रलाई तोरीको पकेट क्षेत्र मानिन्छ ।
(अस्मिता पराजुली)