भरतपुर,चैत २-
भरतपुर १० स्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा तोकिएको समयमा स्ववियु निर्वाचन गर्न अनेरास्ववियुले माग गरेको छ । एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले चैत ५ मा नै निर्वाचन गर्न माग गरेको हो ।
अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष महेश सापकोटाद्वारा प्रेषित विज्ञप्तिमा सो माग गरिएको हो । अनेरास्ववियुले सो मागसहितको ज्ञापनपत्र क्याम्पस प्रमुख मणिराज महतोलाई बुझाएको छ ।
विज्ञप्तिमा निर्वाचन प्रक्रिया जारी रहेका बेला हिजोे सत्ता गठबन्धन दल निकट र विप्लव माओवादीको विद्यार्थी संगठनका नेताहरुले क्याम्पसमा तोडफोड गरेपछि विद्यार्थीमा चुनाव हुने नहुने अन्योल भएको भन्दै तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने जनाइएको छ ।