काठमाडाैं फागुन ३०,
भारतको राजस्थानको अलवर जिल्ला प्रमुख बलबीर चिल्लरले गाडी चालकलाई कुटपिट गरिरहेका छन्।
जिल्ला प्रमुखको सरकारी गाडीलाई अर्का कार चालकले ठक्कर दिएपछि जिल्ला प्रमुख चिल्लर गाडीबाट ओर्लिएर बाटैमा कुटपिटमा उत्रिएका हुन्। यो घटना हिजो (सोमबार) को हो।
चिल्लरले ठक्कर दिने व्यक्तिलाई गाली र कुटपिट गर्दा उनका अंगरक्षकले रोक्न खोजेका थिए । तर उनले आफ्ना अंगरक्षकलाई समेत लछारपछार पारेर गाडी चालकलाई कुटिरहे।
चिल्लर आफ्नो सरकारी गाडीमा जाँदै थिए। उक्त क्रममा कार चालकले चिल्लरको गाडीलाई बाटो नदिएर पछाडिबाट लैजान खोज्दा ठक्कर दिएको थियो।
आफ्नो सरकारी गाडीलाई ठक्कर दिएपछि चिल्लरले ओर्लिएर ती कार चालकलाई कुटेका थिए।
घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेको थियो।
आफूले कार चालकलाई बुझाउन खोजे पनि नमानेपछि कुटेको चिल्लरले बताएका छन्।
ती कार चालकले मादक पदार्थ सेवन गरी जिल्ला प्रमुखलाई गाली गर्न थालेपछि घटना भएको भीडमा उपस्थितले बनाएको भिडियोमा खुलेको छ। पछि कार चालकले माफी मागेपछि घटना मिलाइएको थियो।