काठमाडाैं फागुन १९
सत्ता गठबन्धनका आठ दलले सात वटै प्रदेशका प्रदेश सभा सांसदहरुसँग अन्तरक्रियाको तयारी गरेका छन् । फागुन २५ गते हुन लागेको राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै गठबन्धनले सो अन्तरक्रिया गर्न लागेका हुन् ।
आठ दलले कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा कार्यदल बनाएको छ । सो कार्यदलमा रहेका प्रतिनिधिले सात वटै प्रदेशका सांसदसँग अन्तरक्रिया गर्दैछन् । सो अन्तरक्रियामा कांग्रेसका पदाधिकारी समेत खट्ने भएको सो दलले जनाएको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आठ दलको तर्फबाट राष्ट्रपतिको उम्मेदवार रहेका छन् । उता नेकपा (एमाले) को तर्फबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई कोसी प्रदेशको जिम्मेवारी दिइएको छ । सो प्रदेशमा शर्मासहित सहमहामन्त्री भीष्मराज आङदेम्बे पनि छन् । मधेस प्रदेशमा फरमुल्लाह मन्सुरले जिम्मेवारी पाएका छन् । मधेसमा सहमहामन्त्री महेन्द्र यादवलगायत पार्टीका नेताहरूको पनि सहभागिता रहने कांग्रेसले जनाएको छ । त्यस्तै, वागमती प्रदेशमा महामन्त्री गगन थापालाई जिम्मेवारी दिएको कांग्रेसले जनाएको छ ।
यसैबीच, गण्डकी प्रदेशमा उपसभापति धनराज गुरुङलाई जिम्मेवारी दिइएको छ । त्यहाँ सहमहामन्त्री जीवन परियार पनि सहभागी हुने बताइएको छ । त्यस्तै, लुम्बिनी प्रदेशमा सहमहामन्त्री किशोरसिंह राठोर जिम्मेवारी पाएका छन् । कर्णाली प्रदेशमा उपसभापति पूर्णबहादुर खड्काले जिम्मेवारी पाएका छन् । त्यस्तै, सुदूरपश्चिम प्रदेशमा सहमहामन्त्री बद्री पाण्डेले जिम्मेवारी निर्वाह गर्नेछन् । राष्ट्रपतिको निर्वाचन आउन ६ दिन बाँकी रहँदा दुवै उम्मेदवारले आफ्नो पक्षमा मतदाता पार्न सक्रिय भएका छन् ।