काठमाडौं, १४ फागुन –
हामी जस्तो खान्छौ त्यस्तै बन्छौँ । राम्रो खाना खायौं भने स्वस्थ हुन्छौँ, नराम्रो खाना खायौँ भने विभिन्न रोगको शिकार बन्न पुग्छौँ । खानेकुरा र स्वास्थ्य एक अर्काको परिपुरक हुन् । यी दुई एक अर्कासँग जोडिएको हुन्छ । स्वस्थ रहन खानपानमा बिशेष ध्यान दिनु जरुरी हुन्छ । स्वास्थ्यका लागि अति महत्वपूर्ण तरकारी मध्येको एक हो ब्रोकाउली । ब्रोकाउली तरकारी मात्रै होइन, खानाकै रुपमा पनि प्रयोग गर्न सकिन्छ । अहिले यसको सिजन पनि छ । यसलाई सही तरिकाले खाँदाका फाईदा धेरै छन् ।
ब्रोकाउलीको फाइदा:
ब्रोकाउली पाउने सिजन जाडो मौसम हो । यस मौसममा पाइने ब्रोकाउली स्वादिलो मात्र हुँदैन् स्वास्थ्यको दृष्टिकोणले पनि निकै फाइदाजनक हुन्छ । ब्रोकाउलीले क्यान्सरबाट बचाउन मद्दत गर्छ । ब्रोकाउली आइरन, प्रोटिन, क्याल्सियम, काब्र्रोहाइड्रेट, क्रोमियम, भिटामिन ए र सी को राम्रो स्रोत हो ।
यसको अतिरिक्त ब्रोकाउलीमा फिटाकेमिकल्स अधिक मात्रामा हुन्छ । जब यसलाई चपाइन्छ, यसमा भएको इन्जाइम शरिरको सिस्टमको हिस्सा बन्छ । यो हर्मोनले क्यान्सरबाट बचाउँछ । मानव शरिरले पनि यो हर्मोन निर्माण गर्छ तर जब ब्रोकाउलीले त्यस हर्मोनको श्राव गर्छ तबमात्र त्यो हर्मोन सक्रिय हुन्छ ।
धेरै शोधले यो कुरालाई सावित गरिसकेको छ । ब्रोकाउलीले शरिरमा क्यान्सरको कोशिकाको निर्माण हुनबाट रोक्छ । ब्रोकाउलीमा भएको तत्व शरीरको डिटक्सीफाई हुनमा सहयोग गर्छ । यसले शरीररबाट विषालु पदार्थ बाहिर निस्कन्छ । यसबाट हामी नराम्रो ब्याक्टेरियाबाट बच्न सकिन्छ । ब्रोकाउलीमा फोलिक एसिड, पोटासियम तथा फाइबर प्रचुर मात्रामा पाइन्छ ।
यसमा पाइने एन्टिअक्सिडेन्टले गर्दा शरिरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ । साथै यसमा पाइने आइसोथायोसाइनेट्सले क्यान्सर उत्पन्न गर्ने कोसिकाको प्रभाव कम गर्न सहयोग गर्ने इन्जाइम निर्माणमा पनि सघाउ पुर्याउँछ । ब्रोकाउलीले स्तन क्यान्सर, आन्द्राको क्यान्सर, मृगौलामा हुने क्यान्सर, ब्लडरमा हुने क्यान्सर तथा प्रोस्ट्रेट क्यान्सरबाट बचाउँछ । यसका साथै ब्रोकाउली खाँदा अन्य थुप्रै किसिमका फाइदाहरु मिल्छ ।
प्रतिरक्षा शक्ति
ब्रोकाउलीको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ जसले गर्दा रोगहरुसँग लड्न र प्रतिरक्षा गर्न सक्छ ।
मधुमेहबाट जोगाउँछ
ब्रोकाउलीको नियमित सेवनले मधुमेहबाट पनि बचाउँछ । ब्रोकाउलीमा पाइने एन्टिअक्सिडेन्ट तथा फाइबरले रगतमा चिनीको मात्रा उचित राख्न सहयोग गर्छ । जसकारण मधुमेहको खतरा कम हुन्छ । यसमा पाइने क्रोमियमले मधुमेह हुनबाट रोक्छ ।
आँखालाई फाइदा
ब्रोकाउलीको सेवनले मोटाइब्स र मांसपेशी अन्धोपन जस्ता समस्याहरुबाट जोगाउन सहयोग गर्छ । बेटा केराटाइन नामक पोषक तत्वले गर्दा आँखामा मोतिविन्दु र मस्कुलर डिजेनरेसन हुनबाट पनि रोक्छ ।
छालाको हेरचाह
ब्रोकाउली छालाको लागि निकै राम्रो मानिन्छ । ब्रोकाउलीको सेवनले छालाको क्यान्सरको खतरा कम गर्छ र विकिरणहरुको प्रभाव घटाउँछ जसले गर्दा छाला डढ्ने समस्या घट्छ । यसमा पाइने सल्फोराफेन नामकोे तत्वले ब्रोकाउली शरिरमा रगड्दा छालाको क्यान्सरको जोखिम कम गर्छ ।
स्तन क्यान्सरबाट बचाउँछ
ब्रोकाउलीमा पाइने यौगिक सल्फोराफेनले स्तन क्यान्सरको कोसिकाहरु बढ्न कम गर्छ । स्तन क्यान्सरको प्रारम्भिक चरणमा यसको सेवनले निकै फाइदा पुर्याउँछ ।
उच्च रक्तचाप कम गर्छ
ब्रोकाउली भिटामिन सी र क्याल्सियमको राम्रो स्रोत हो । यसमा पाइने सल्फोराफेनले उच्च रक्तचाप कम गर्छ । साथै मुटुको रोग कम गर्छ ।
फोक्सोलाई फाइदा
मानव शरीर तन्दुरुस्त राख्न फोक्सोले निकै महत्वपूर्ण भूमिका खेल्छ । ब्रोकाउलीको नियमित सेवनले संक्रमित तथा बिग्रेको फोक्सोलाई सजिलै स्वस्थ तथा तन्दुरुस्त बनाउन सक्छ । ब्रोकाउलीले फोक्सोमा भएको किटाणुहरुलाई बाहिर निकाल्ने काम गर्छ र फोक्सो सम्बन्धी विभिन्न रोगहरुबाट छुटकारा पाउन मद्दत गर्छ ।
हड्डी बलियो बनाउँछ
ब्रोकाउलीमा क्याल्सियम, फोस्फोरस, म्याग्नेसियम र जिंक पाइन्छ । जसले गर्दा शरिरको हड्डीलाई मजबुत बनाउँछ । यसमा पाइने भिटामिन सीले शरीरमा तन्तु तथा हड्डीको लागि चाहिने तत्व उत्पादनमा पनि सहयोग गर्छ ।
घाउ चाँडो निको पार्छ
ब्रोकाउलीमा बायोएक्टिभ कम्पाउन्डले शरिरमा हुने संक्रमणलाई रोकन सहयोग गर्छ । घाउहरु सुन्निन र संक्रमण हुन दिँदैन् र घाउ पनि चाँडो निको हुन्छ ।
कसरी प्रयोग गर्ने
क्यान्सरबाट बच्नको लागि ब्रोकाउली फाइदाजनक सब्जी हो । यसको नियमित सेवन गरेमा धेरै लाभ उठाउन सकिन्छ । ब्रोकाउलीलाई स्टिम गरेर वा सलादको रुपमा प्रयोग गर्दा राम्रो हुन्छ । फ्राई गर्दा भने यसमा भएको क्यान्सर प्रोटेक्टिभ फ्लोबेनाइड नष्ट हुन्छ । ब्रोकाउलीलाई धेरैबेर उसिन्दा वा पकाउँदा त्यसमा भएको सल्फोराफेन ७० प्रतिशत कम हुन्छ । तर स्टिम गर्दा वा माइक्रोओभनमा पकाउँदा ब्रोकाउलीमा भएको अधिकांश पौष्टिक तत्वहरु जोगिन्छन् । (एजेन्सीको सहयोगमा)