काठमाडौं, माघ १३-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानको विपक्षमा सर्वोच्च अदालतले आदेश दिएको छ ।
उनले नेपाली नागरिकता पुनःप्राप्तिका लागि प्रक्रिया पूरा नगरेकाले उनी सांसदको उम्मेदवार हुन र सांसद निर्वाचित हुनेसम्म अयोग्य रहेको सर्वोच्चको संवैधानिक इजलासले आदेश दिएको छ ।
सर्वोच्चले उत्प्रेषणको आदेश दिँदै उनको सांसद पद पनि खारेज गरिदिएको छ । सांसद पद खारेज भएसँगै उनको उपप्रधानमन्त्री तथा गृहमन्त्रीको पद पनि गुमेको छ । त्यति मात्र होइन, उनकै सभापतित्वमा गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वको पद पनि गुमाएका छन् ।
सांसद नभएसँगै उनले राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेताको पद पनि गुमाएका छन् । सर्वोच्चको आदेशसँगै चितवन २ मा उपनिर्वाचन हुने निश्चित भएको छ ।