चितवन। जिल्लामा रहेका पालिकाले स्थानीय तह राष्ट्रपति रनिङ शिल्ड सुरु गरेका छन् । आजदेखि पालिकाले विभिन्न समयमा प्रतियोगिता सुरु गरेका हुन् ।
पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डअन्तर्गत आज भरतपुर महानगरपालिकाले प्रतियोगिता सुरु गरेको छ । तीन दिनसम्म चल्ने प्रतियोगितामा महानगरभित्रका ७६ विद्यालय सहभागी भएका छन् । पाँच विधामा हुने प्रतियोगितामा छनोट भएका विद्यार्थी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने छन् । एथलेटिक्स, तेकवान्दो, कराते, भलिबल, कबड्डी खेलमा छात्र, छात्रा सहभागी हुने छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै महानगर उपप्रमुख चित्रशेन अधिकारीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलाडीको प्रतिभा प्रस्तुत गर्ने थलोको रुपमा रहेको बताउनुभयो । प्रतियोगितालाई महोत्सवको रुपमा लिएर आफ्नो प्रतिभा प्रस्तुत गर्न खेलाडीलाई अनुरोध गर्दै उहाँले प्रतियोगिता भव्यसभ्य रुपमा सम्पन्न गर्न अनुरोध गर्नुभयो । पालिकाबाट छनौट भएका खेलाडी राष्ट्रियस्तरमा खेल्न सक्ने क्षमताका हुने भन्दै उहाँले खेलले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।
गुञ्जनगर माध्यमिक विद्यालयको खेलमैदानमा आजदेखि ८ गतेसम्म प्रतियोगिता हुनेछ । माघ ९ गतेदेखि ११ गतेसम्म खैरहनी नगरपालिकाको खैरहनी माध्यमिक विद्यालयमा, माघ १३ गतेदेखि १५ गतेसम्म राप्ती नगरपालिकाको ब्रमनगर माध्यमिक विद्यालयमा प्रतियोगिता हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । माघ १४ गतेदेखि १६ गतेसम्म रत्ननगर नगरपालिकाको टिकौली खेल मैदान, १७ गतेदेखि १९ गतेसम्म माडी माविको खेलमैदानमा र २१ देखि २३ गतेसम्म कालिका नगरपालिकाको सहिद स्मृति क्याम्पसको खेलमैदानमा प्रतियोगिता हुनेछ । इच्छाकामना गाउँपालिकाले अहिलेसम्म प्रतियोगिताको निर्णय गरी नसकेको समितिले जनाएको छ । हरेक पालिकाबाट छानिएका खेलाडीले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाएका छन् ।