चितवन, पुष १३-
चितवनसहित देशैभर क्रमशः चिसो बढ्दै गएको छ । चिसोबाट जोगिन र शरीरलाई न्यानो बनाउन विभिन्न उपाय अपनाइन्छ । जाडोमा कोठा तातो बनाउन अर्थात् न्यानोपनका लागि इलेक्ट्रिक तथा इन्धनजन्य हिटर प्रयोग गरिन्छ । तर इलेक्ट्रिक तथा इन्धनजन्य हिटर प्रयोग गर्न नजान्दा मानिसको अनाहकमा मृत्यु भएका घटना बेलाबेला सार्वजनिक हुने गर्छन् ।
न्यानोपनका लागि हिटर प्रयोग उपयुक्त भए पनि सही तरिकाले प्रयोग गर्न नजान्दा जाडो मौसममा अप्रिय घटना घट्ने गरेका छन् ।
हिटर बाल्नु असुरक्षित होइन । तर, हावा ओहोरदोहोर हुन रोकी झ्याल–ढोका बन्द गरी कोठाभित्र हिटर बाल्दा स्वास्थ्यमा प्रतिकुल असर गर्छ । बन्द कोठाभित्र हिटर ताप्दा त्यहाँको हावामा आद्रता कम हुन्छ । अर्थात् हावालाई सुक्खा बनाइदिन्छ ।
बन्द कोठाभित्र हिटर ताप्दा अक्सिजन नभएको खण्डमा रातो रक्तकोषिकाहरुले शरीरमा कार्बन मोनो अक्साइडलाई सजिलै ग्रहण गर्छ । त्यसले कोसिका मार्फत शरीरका तन्तुमा कार्बन मोनो अक्साइड फैलिएपछि सधैंका लागि मष्तिष्कले काम गर्न छोड्छ । जसले गर्दा वाकवाक लाग्ने, झुम्म हुने, टाउको दुख्ने लगायतको लक्षण देखिएर मुटुको चाल नै बन्द हुने सक्ने अवस्था सिर्जना हुन सक्ने भएकाले सावधानी अपनाउन चिकित्सकहरुको सुझाव छ ।
हिटरको प्रयोग गर्दा यी कुराहरुमा ध्यान दिऔं
चलिरहेको हिटरलाई समय समयमा बन्द गरिरहनुपर्छ ।
राति सुत्नुभन्दा पहिला हिटरलाई बन्द गरेरमात्रै सुत्नुपर्छ ।
हिटर बालेको समयमा ढोका र झ्याल खुला राख्नुपर्छ ।
श्वासप्रश्वास, मुटु, नियमित खोकी लाग्ने व्यक्तिले सकेसम्म हिटरको प्रयोग नगर्ने ।
लामो समयसम्म हिटरको प्रयोग गर्दा छाला, आँखालाई समेत सुक्खा बनाउँछ ।
धेरै हिटर ताप्दा छालामा समस्या देखिने भएकाले छालामा नियमित चिल्लो पदार्थ लगाउनुपर्छ ।