– हिरालाल आचार्य ‘Diamond’
चितवन, पुष ८ –
पूर्वपश्चिम राजमार्गमा पर्ने भरतपुरको पुल्चोक–गोन्द्राङ सडकखण्डमा सडकसिमाभित्र पर्ने घरहरु भत्काउन सुरु गरिएको छ ।
सडकखण्डलाई ६ लेनमा विस्तार गरी ५० मिटर फराकिलो बनाउने काम भइरहेको छ । भरतपुरको केन्द्रीय बसपार्कदेखि गोन्द्राङ्गमा घरहरु नपरेकाले काम सकिएर अन्तिम चरणमा छ ।
तर पुल्चोकबाट भरतपुर बसपार्कसम्म ५८ घर सडक सीमाभित्र पर्दछन् । सडक सीमाभित्रका घरका टप तथा कौसी भत्काउनुपर्नेको संख्या एक सयभन्दा माथि छ । ती घरहरुको टपबाहेक १० सेन्टिमिटरदेखि एक दशमलव पाँच मिटरसम्म भत्काउनुपर्ने सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।
कार्यालयले दुई पटकसम्म सूचना जारी गरी सडकसिमाभित्र पर्ने घर टहरा हटाउन आग्रह गरे पनि घरधनीले अटेर गरेपछि कार्यालयले आफै भत्काएको हो । कार्यालयले ३५ दिने र १५ दिने सूचना जारी गरेको थियो ।
घरधनीहरुले तत्कालीन भरतपुर नगरपालिकामा नक्सा पास गरेर घर बनाएकाले जबर्जस्ती भत्काउन नहुने भन्दै वैकल्पिक उपायको खोजी गर्नुपर्ने माग राख्दै आएका छन् ।
पुल्चोकबाट दुई वटा डोजरको साहयतामा घरटहरा भत्काइँदै छ । व्यावसायीहरु सटर बन्द गरेर बसेका छन् । भत्काउनु पर्ने घरमा व्यावसाय गरेकाहरु यतिखेर हतार हतार समान सारिरहेका छन् ।