चितवन, पुष ८-
भरतपुर महानगरपालिक पुल्चोक गोन्द्रङमा ६ लेन सडकमा पर्ने घरमा सडक डिभिजन कार्यालय भरतपुरले डोजर चलाएको छ ।
कार्यालयले दुई पटकसम्म सूचना जारी गर्दासमेत घरधनीले अटेर गरेपछि आजबाट नारायणगढको पुल्चोकबाट घर भत्काउन सुरु गरेको हो।
कार्यालय प्रमुख रमेशप्रसाद पौडेलका अनुसार पुल्चोकबाट भरतपुर बसपार्कसम्म ५८ घर सडक सीमाभित्र पर्दछन् ।
सडक सीमाभित्रका घरका टप तथा कौसी भत्काउनुपर्नेको सङ्ख्या एक सयभन्दा माथि छ। ती घरहरुको टपबाहेक १० सेन्टिमिटरदेखि उक दशमलव पाँच मिटरसम्म भत्काउनुपर्ने देखिएको छ।
सडक ५० मिटर फराकिलो हुने भएकाले त्यसभित्र परेका संरचना भत्काइने उनले बताए। यसअघि ३५ दिन र १५ दिनको समय दिएर सूचना जारी गर्दा अटेर गरेको बताए। सो सडक विस्तारको काम भइरहेको छ।
प्रजिअ अस्मान तामाङले डिभिजन सडक कार्यालयको काममा सहयोग गरिने बताए। उनले भने, “उहाँहरुले कहिलेबाट काम थाल्नुहुन्छ, आवश्यक सुरक्षा हामी दिन्छौँ।” भत्कने धेरै घर नारायणगढ बजार क्षेत्रका छन्। केही घरहरु भरतपुरको हाकिमचोक लगायतका क्षेत्रका छन्।
घरधनीहरुले तत्कालीन भरतपुर नगरपालिकामा नक्सा पास गरेकाले जबर्जस्ती भत्काउन नहुने भन्दै वैकल्पिक उपायको खोजी गर्नुपर्ने बताउँदै आएका छन्।






