चितवन, कात्तिक २४-
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भगवान भनेकै बुवा–आमा भएको बताएकी छन् ।
भरतपुर वडा नम्बर २५ ले अयोजना गरेको ८० वर्ष पुरा भएका जेष्ठ नागरिकलाई सम्मान तथा अभिनन्दन कार्यक्रममा उनले विश्वका केही देशमा आफ्ना सन्तानले बुवा–आमाको तस्वीर राखेर पुजा गर्ने चलन अहिले पनि रहेको उल्लेख गरे ।
नेपालमा पनि बुवा–आमालाई अहिले पनि भगवानकै ठाँउमा राखेर पुज्नेहरु छन्–मेयर दाहालले भने। तर, केही व्यक्तिहरुले भने वृद्धि बुवा–आमालाई वृद्धआश्रममा गएर छाड्ने परिपाटी दुखद भएको बताए । बुवा–आमालाई हामीले सम्मान दिएनौ भने हाम्रा सन्ततीले त्यही सिको गर्ने उनको भनाई थियो ।
जेष्ठ नागरिकलाई सम्मान गर्ने वातावरण निर्माण गर्न समाजिक अभियान, सकारात्मक सोच र चिन्तनको विकास गर्न जरुरी रहेको उनले बताए । जेष्ठ नागरिकको सम्मानको लागि महानगरपालिकाले नीतिगत निर्णय गरी विभिन्न कार्यक्रमहरु अगाडि बढाएको मेयर दाहालले उल्लेख गरे ।
जेष्ठ नागरिकका लागि एक वडा एक विश्रामस्थल, जेष्ठ नागरिकका सिप र अनुभवलाई ग्रहण गर्न पुस्तान्तरण कार्यक्रम, असल छोरा बुहारीलाई सम्मान कार्यक्रम, वडाका जेष्ठ नागरिकलाई सम्मान तथा तिर्थयात्रा गर्न बजेट विनियोजन गर्ने गरेको मेयर दाहालले जानकारी दिए ।
बुवा–आमालाई हेला–होचो गर्ने अवस्थालाई न्युनिकरण गरी सबै घरमा खुसीयाली ल्याउन महानगरपालिकाले प्रयास गरिरहेको उनले औल्याए । समाजमा देखिएका गलत सोच र विकृतिलाई निरुत्साहित गर्दै सुन्दर र सुसंस्कृत सहर निर्माण गर्न सबैले हातेमालो गर्नुपर्ने मेयर दाहालको भनाई थियो ।
महानगरपालिकामा विगत ५ वर्षमा अधिकांश वडाहरुमा जेष्ठ नागरिक विश्रामस्थल निर्माण भईसकेको र निर्माण हुन बाँकी रहेका वडाहरुले जग्गाको पहिचान गरेर आए भवन निर्माण गर्न बजेट विनियोजन गरिने मेयर दाहालले प्रष्ट पारिन् ।