काठमाडौं, कात्तिक २१-
युवापुस्ताका चर्चित गायक प्रकाश दूतराजले अष्ट्रेलियामा आत्महत्या प्रयास गरेका छन् । सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया गएका उनले स्थानीय समयअनुसार हिजो राति २ बजे झुण्डिने प्रयास गरेको स्रोतले बतायो ।
गायिका भूमिका गिरीसहित दूतराज कन्सर्टका लागि गत २० अक्टोबरमा अष्ट्रेलिया गएका थिए । त्यहाँ उनीहरू दुवैलाई आयोजकले एउटा फ्ल्याट लिएर राखेको थियो । सोही फ्ल्याटको आफू सुत्ने कोठामा दूतराजले झुण्डिने प्रयास गरेका हुन् ।
उनको कोठाको ढोका खुल्लै थियो । झुण्डिने प्रयासका क्रममा भूमिकाले थाहा पाएपछि उनको कोठामा प्रवेश गरी उद्धार गरेको आयोजक निकट स्रोतले बतायो ।
दूतराजको अवस्था अहिले सामान्य छ । उनले आत्महत्या प्रयास गर्नुको कारण खुलाएका छैनन् । दूतराज र भूमिका अहिले केही दिनपछि अष्ट्रेलियाबाट फर्किने कार्यक्रम छ ।
छोटो समयमा चर्चा र लोकप्रियता कमाएका गायक हुन्, दूतराज । उनले गाएका ‘घर कता हो बैनीको‘’ ‘जाम भो माइली‘’ ‘चोली मैलै भो‘’, ‘रेलिमाई‘’ लगायत गीतहरू चर्चित छन् । -नेपालपत्र