चितवन, असोज १८-
प्रेस चौतारी चितवनले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा लेखक तथा समाजसेवी सन्तोष पन्तले आर्थिक सहयोग गरेका छन् ।
आफ्नो जन्मदिनको अवसरमा प्रेस चौतारी चितवनका साधारण सदस्यसमेत रहेका पन्तले चौतारी चितवनका अध्यक्ष सुवास पण्डितमार्फत नगद ११ हजार १ सय ११ रुपैयाँसहयोग गरेका हुन् ।
चौतारी चितवनले स्थापना गरेको कोषले पत्रकारहरुको हक, हित सुरक्षा र समस्यामा सानो भए पनि योगदान गर्ने ठानेर आफूले गरेको पन्तले बताए । पन्त विभिन्न सामाजिक गतिविधी र विषेश गरी ट्राफिक चेतना एवम् सुरक्षा सम्वन्धी विषयमा कलम चलाउने गरेका छन् ।
चौतारी चितवनका अध्यक्ष सुवास पण्डितका अनुसार पत्रकारिता पेसामा निरन्तर लागिरहेका पत्रकारहरुलाई असहज अवस्था सिर्जना हुँदा आर्थिक रुपमा सहयोग गर्ने, उत्कृष्ट कार्य गरे वापत पुरस्कार तथा सम्मान गर्ने र संगठनलाई चलायमान बनाउने मुख्य उद्देश्य राखेर उक्त कोष स्थापना गरिएको हो ।
प्रेस चौतारी चितवनले पत्रकारलाई स्वास्थ्य उपचारमा सहयोग पु¥याउनु, संगठन सुदृढिकरण र पत्रकारहरुको क्षमता अभिबृद्धिका कार्यक्रम गर्न, पत्रकारहरु बिरामी वा दुर्घटनामा परी उपचार गर्नुपर्ने अवस्थामा निजको आर्थिक अवस्थाले थेग्न नसक्ने अवस्था आएमा सहयोग गर्ने जनाएको छ ।
साथैं चौतारीमा आवद्ध कुनै सदस्यको मृत्यु भएमा कोषबाट आर्जित व्याज तथा अन्य सहयोगबाट २० हजार रुपैयाँ सहयोग गर्नु लगायतका विभिन्न उद्देश्य कोषको रहेको छ ।