गण्डकी, २३ चैत-
माझठाना पोखरा सम्पर्क समाजद्वारा प्रकाशित नयाँ वर्ष २०७९ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो लोकार्पण गरिएको छ ।
समाजका संरक्षक एवम् ज्येष्ठ नागरिक गङ्गादेवी लामिछानेले पोखरामा आयोजित एक समारोहबीच भित्तेपात्रो लोकार्पण गर्दै नयाँ वर्षले सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गर्नुभयो ।
उर्वर भूमि माझठानको टारी, वेगनास ताललगायत सो क्षेत्रमा भए गरेका विकास निर्माण, महत्वपूर्ण प्राकृतिक सम्पदा तथा धार्मिक क्षेत्रलाई प्रकाशित भित्तेपात्रोमा समेटिएको समाजका अध्यक्ष दयाराम तिवारीले जानकारी दिनुभयो ।
प्रकाशित भित्तेपात्रोमा सौर्यस्थित मनकामना मन्दिर, किरातेश्व महादेव बसाहढुङ्ग, स्याङखुदीस्थित शिव मन्दिर, पात्ले देउराली शिव मन्दिरका तस्बिर समावेश गरिनाका साथै संस्थाले एक वर्षको अवधिमा गरेका गतिविधिसमेत समेटिएको उहाँको भनाइ छ ।
लोकार्पण कार्यक्रममा समाजका संस्थापक अध्यक्ष श्रीकृष्ण लामिछाने र निवर्तमान अध्यक्ष दुर्गादत्त भुर्तेल, समितिका उपाध्यक्षद्वय शारदा लामिछाने र भोलानाथ ओझा, सचिव रामकृष्ण तिवारी लगायतले समाजले सबैलाई समेट्दै माझठानाको विकास निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । – रासस