चितवन, असोज ३१-
बैंक तथा वित्तिय संस्थाहरुले वृद्धि गरेको ब्याजदरका विरुद्ध आज उद्योग वाणिज्य संघ–चितवनले ज्ञापन पत्र बुझाएको छ ।
संघले नेपाल सरकार अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा समन्वयका लागि नेपाल उद्योग वाणिज्य महासंघलाई जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ मार्फतसंघका अध्यक्ष चुननारायण श्रेष्ठले ज्ञापन पत्र बुझाएका हुन्।
मुलुकको कुल ग्राहस्थ उत्पादन र रोजगार सिर्जनामा महत्वपूर्ण योगदान पु¥याउंदै आएको निजीक्षेत्रमाथि समय–समयमा थपिने आर्थिक भार,नेपाल सरकारबाट लागु गरिने आर्थिक नीति तथा औद्योगिक एवम् व्यवसायिक विकास प्रतिकुलका प्रावधानहरुले निजी क्षेत्र धरासायी बनेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
नेपाल राष्ट्र बैंकले लागु गरेको चालु पूंजी मार्गनिर्देशन र सोही मार्गनिर्देशनको आडमा बर्तमान आर्थिक मन्दिको अवस्थामा बैंक तथा वित्तिय संस्थाहरुले मनोमानी रुपमा गरेको व्याजदर वृद्धी प्रति उद्योग वाणिज्य संघ– चितवनको गम्भिर ध्यानाकर्षण भएको संघले जनाएको छ ।
कोभिड १९ को माहमारीका कारण मुलुकको अर्थतन्त्र अत्यन्तै प्रभावित भएको र रसिया–युक्रेन युद्धका कारण निजी क्षेत्र लगायत अर्थतन्त्रनै धरापमा परेको एवम् मुलुकको अर्थतन्त्रमा चौतर्फि दवाव परिरहेको र निजी क्षेत्रले आफ्नो व्यवसायिक अवस्थालाई पुनःजागृत गर्नुपर्ने अवस्थामा पछिल्लो समय भएको व्याजदर वृद्धिले व्यवसायीलाई निकै आहत पुगेको संघले जनाएको छ ।
विश्वव्यापी रुपमा खाद्यान्न तथा इन्धनको मुल्य वृद्धि हुँदा विश्व अर्थतन्त्रमा थप चुनौती थपिनुका साथै नेपाल जस्तो विकासोन्मुख देश आर्थिक मन्दीको चरम अवस्थामा पुग्न सक्ने प्रक्षेपण भैरहेको वर्तमान अवस्थामा बैंक तथा वित्तिय संस्थाहरुबाट गरिएको एकतर्फि र मनोमानी रुपमा व्याजदर वृद्धिले व्यवसायीक क्षेत्र धरासायी बनेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मनोमानी रुपमा वृद्धि भएको व्याजदर दैनिक रुपमा बैंक तथा वित्तिय संस्थाबाट किस्ताको लागि दिईने मानसिक तनाबका कारण व्यवसायिक क्षेत्र विक्षिप्त बनेको भन्दै यसले एकातर्फ उद्यमी व्यवसायी मर्कामा परेको र आकासिएको महंगीको कारण सर्वसाधारण जनताको दैनिक जीवन समेत कष्टकर बनेको संघले उल्लेख गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा भएको कार्यक्रममा ज्ञापन पत्र बुझ्दै चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले आजै सम्बन्धित निकायमा संप्रेशण गर्ने बताए ।
ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष चुननारायण श्रेष्ठको नेतृत्वमा संघका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, उपाध्यक्ष त्रय, चिरञ्जिवि सुवेदी, राजेन्द्र ओली, सिरिस पन्त, कार्यसमिति सदस्य, कार्यकारी निर्देशक निलबहादुर केसी विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधिको उपस्थिती रहेको थियो ।








