कावासोती, असोज २०–
लगातार वर्षापछि नारायणी नदीमा आएको बाढीले पूर्वी नवलपरासीको गैँडाकोटमा ८० घर डुबाएको छ । गैँडाकोट नगरपालिका–२ मा रहेको बोटे टोलमा नारायणीको बाढी पस्दा ८० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी सन्तोष पाठकले बताउनुभयो ।
गैँडाकोट–२ का जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय गैँडाकोटबाट खटिएको प्रहरीको टोलीले डुबान क्षेत्रमा रहेका मानिसलाई चौपाया र सरसामानसहित उद्धार गरेर अक्स्फोर्ड कलेज र महेन्द्र स्मारक आधारभूत विद्यालयमा राखिएको पाठकले बताउनुभयो ।
लगातार परेको वर्षापछि नारायणी नदीमा आएको बाढीका कारण जिल्लाका गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु र विनयी त्रिवेणीका नारायणी नदी तटीय क्षेत्रका बासिन्दा जोखिममा रहेका छन् । बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सजग हुन आग्रह गर्दै सुरक्षा निकायलाई तयारीमा राखेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो ।