– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, असोज १५ –
नवरात्रको छैठौं दिन आज भरतपुरमा वडा दशैं देवी दर्शन रथ यात्रा सम्पन्न भएको छ ।
भरतपुर वडा नम्बर ११, १०, २ र १ मा पर्ने ऐतिहासिक धार्मिक सात वटा शक्तिपिठमा परिक्रमा गरी रथ यात्रा गरिएको हो ।
वडा दशैं देवी दर्शन रथ यात्रा व्यवस्थापन समितिको आयोजना तथा नौ वटा टोल विकास संस्था र सात वटा आमा समुह र चार वटा समुदायको सह आयोजनामा रथ यात्रा गरिएको हो ।
श्री बगलामुखी देवी कैलाशेश्वर महादेव, श्री जखडीमाई देवी, श्री नवदुर्गा भवानी, श्री जलदेवी, श्री वागीश्वरी देवी, श्री मनकामना देवी, श्री चण्डेश्वरी देवी मन्दिरको परिक्रमा तथा पूजाआजा गर्दै रथ यात्रा गरिएको हो । रथको रुपमा चारपाङ्ग्रे गाडीलाई प्रयोग गरिएको थियो । उक्त रथमा देवीको प्रतिक राखिएको थियो ।
रथ यात्रामा पञ्चेबाजासहित विभिन्न समुदायको झाँकी प्रदर्शन समेत गरिएको थियो ।
रथ यात्राका संयोजक रविन्द्र बरालले यस्तो खालको यात्रा वर्षेनी गरिने बताए । ऐतिहासिक शक्तिपिठहरुको संरक्षण र प्रवद्र्धन गर्नु तथा नवपुस्ताहरुलाई धर्मसंस्कृतिका बारेमा जानकारी गराउनु यस यात्राको प्रमुख उद्देश्य रहेको उनले बताए ।