गैंडाकोट, असोज १४-
वनै वनको बीचमा उकालो बाटो। बाटोको छेउछाउमा ढुंगा कुँदेर बनाइएका आकर्षक मूर्ति। चरा चुरुङ्गीको चिरविर आवाजमा रमाउँदै डाँडा चढ्नेहरू थकानको महसुस गर्दैनन्। डाँडाको माथि पुग्नै लाग्दा घण्टको ध्वनिले मनै आनन्दित बनाउँछ।
डाँडाको टुप्पोमा समथर भाग, अनि फराकिलो आँगन भएको आकर्षक मन्दिर मौलाकालिका। उत्तरपट्टी हिम शृंखला रत्रिशूली र कालीको संगम देवघाटधाम देखिन्छ। दक्षिणतर्फ सललल बग्दै गरेको नारायणी नदीको नागवेली चाल।
त्यसको पारिपट्टीको नारायणघाट बजारसहित चितवनको समथर भूभागको मनोरम दृष्य। यसले डाँडा उक्लिँदा लागेको थकान क्षणभरमै बिर्साउँछ। गैंडाकोटको मौलाकालिका मन्दिरमा पुग्ने जो कोहीले स्वर्गको अनुभूति गर्छन्। अध्यात्म र आस्थाको केन्द्र हो, मौलाकालिका मन्दिर।
मौलाकालिकालाई शक्ति स्वरुपाको रुपमा पुज्ने गरिन्छ। नवरात्री सुरु भएसँगै मौलाकालिकामा दर्शनार्थीको भीड बढ्दै गएको छ। प्राकृतिक सौन्दर्यले भरिएको मौलाकालिका धार्मिक, साँस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले आकर्षणको केन्द्र बनेको छ। बाटोको बीचबीचमा पाटी पौवा छन्।
भन्ज्याङ चौतारीहरूमा वि श्राम गरी चिसो पानी पिउँदै, सुन्दर प्राकृतिक दृश्यावलोकन गर्दै करिव एक घण्टामा मौलाकालिका मन्दिरमा पुग्न सकिन्छ। मन्दिरसम्म पुग्न एक हजार आठ सय ८२ वटा सिंढी पार गर्नुपर्छ।
हिजोआज मन्दिरमा दैनिक ठूलो भीड लाग्ने गरेको छ। एकै दिन तीन लाख भेटी संकलन हुने मन्दिरले जनाएको छ। घटस्थापनाका दिन मात्रै ६४ हजार चार सय ८५ रुपैयाँ संकलन भएको थियो। दानपेटिका ब्यवस्थापक मोती भण्डारीले भक्तजनको आवागमन बढ्ने भएकाले संधै भीडभाड हुने बताए। दसैंको सप्तमीदेखि नवमीसम्म दैनिक ५० हजारभन्दा बढी दर्शनार्थीले पूजा गर्छन्। शनिबारदेखि नवमीसम्म भीड बढी हुन्छ। वार्षिक ३३ लाख दानपेटिकामा संकलन हुन्छ। त्यस्तै वार्षिक १२ लाख परेवा बिक्रीबाट आम्दानी हुने दानपेटीका ब्यवस्थापक मोती भण्डारीले जानकारी दिए।
मन्दिरमा २०३८ सालदेखि संस्थागत पूजा–अर्चना थालिएको हो। २०५३ सालमा प्यागोडा शैलीमा मन्दिर निर्माण भएपछि भक्तजन र पर्यटकको संख्या बढ्न थालेको हो। भगवतीको दर्शन र चरणमा गरेको भाकल पूरा हुने विश्वास छ।
मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास गरिन्छ। धार्मिक सेवा समितिका प्रमुख सल्लाहकार पूर्व डीआईजी ज्ञानेन्द्रविक्रम महत तीन दशकदेखि मन्दिरको विकासका लागि सक्रिय छन्।
‘यो धार्मिक आस्थाको केन्द्र हो। शक्तिको प्रभावकै कारण यसप्रतिको विश्वास बढेको हो’, उनले भने, ‘अहिले मात्रै होइन यहाँ पहिल्यैदेखि भक्तजनको भीड लाग्ने गरेको छ।’ सरकारले मन्दिरलाई धार्मिक गन्तव्यमा समेत सूचीकृत गरेको छ। मौलाकालिका मन्दिरमा केही वर्षदेखि युवायुवतीको पनि आकर्षण बढेको छ। शनिबार र मंगलबार मन्दिरमा बढी भीड लाग्छ। बिहान मर्निङवाक गर्नेको ताँती नै लाग्छ।
आधुनिक संसारमा रमेकाहरूका लागि पनि धार्मिक आस्थाको केन्द्र बनेको मौलाकालिका मन्दिर धार्मिक पर्यटकीय क्षेत्रको रुपमा अगाडि बढिरहेको छ। देश विदेशका धार्मिक पर्यटकहरू पनि यहाँ आउने गरेका छन्। मौलाकालिका र देवघाटले धार्मिक पर्यटन जोड्न खोजिएको देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष टंकनाथ पौडेलले बताए। ‘भगवतीको शक्ति भएको यो ऐतिहासिक ठाउँ हो’, उनले भने, ‘दुवै क्षेत्रलाई समन्वय गरेर प्रवद्र्धन गर्न लागेका छौं।’
यहाँ अतिथि सत्कार गृह, योग ध्यान कक्ष, हेलिप्याड, गणेश तथा कृष्ण मन्दिर, व्यवस्थित भोजनालय, गौशाला, धार्मिक पर्यटक वि श्राम गृह छन्। मन्दिर परिसरमा रहेको गुरुकुलमा १८ जना विद्यार्थी अध्ययनरत छन्। ४५० वर्ष पहिले सेन राज्यको पतनसँगै यो मन्दिर ओझेलमा परेको भनाइ छ।
सेनवंशी राज्यकालपछि शक्ति स्वरुपा मौलाकालिका भगवतीका बोटे, दराई, चेपाङ, मगर, कुमाल, गुरुङजस्ता आदिवासीले पालैपालो गरेर पूजापाठ गर्थे।
त्यहाँ धमिराले खाएको काठको मौलो र कालिका भगवतीको शिला पत्थर थिए। २०३२ सालमा स्थानीय केही व्यक्ति मिलेर सानो मन्दिर बनाएका थिए।
२०४३ बैशाखसम्म बडा दसैं र चैत्रे दसैंमा पूजापाठ र पञ्चवली चढाउने व्यवस्था थियो। मन्दिरमा २०४४ साल चैत्रदेखि हरेक दिन बिहान–बेलुका पूजापाठ हुँदै आएको छ।
पाल्पाका राजा मणिमुकुन्द सेनको राज्यकालमा तत्कालीन सैनिक टुकडीले आफ्नो गढी (ब्यारेक)मा मौलो गाडी कालिका भगवतीको शिला स्थापना गरेर पूजाअर्चना गर्दै आएको किंवदन्ती पाइन्छ।
–अन्नपूर्ण पोष्ट बाट