काठमाडौं, असोज १०-
नेपालमा आइतबार (हिजो) एकै दिन एक हजार १५१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
शनिवार बेलुकीसम्म २४ हजार चार सय ९२ जना डेंगुका बिरामी भेटिएकामा हिजो बेलुकीसम्मको तथ्यांकअनुसार २५ हजार पाँच सय ४३ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो एकै दिन डेंगु संक्रमणका कारण तीन जनाको ज्यान गएको छ । योसहित नेपालमा डेंगु संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । यो विवरण गएको साउन महिनापछिको हो ।
देशका ७६ जिल्लामा डेंगु पुष्टि भएकोमा सबैभन्दा धेरै काठमाण्डौमा आठ हजार आठ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुरमा ६ हजार दुई सय १८ र भक्तपुरमा आठ सय ८१ गरी काठमाण्डौ उपत्यकामा डेंगु संक्रमितको संख्या १२ हजार ३५ जना पुगेको छ ।
उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै दुई हजार दुई सय ७५ जनामा संक्रमण देखिएको छ ।
धादिङ, चितवन, दाङ, रुपन्देही, गुल्मी, कैलाली र दार्चुलामा दुई सय जनाभन्दा बढीमा डेंगु पुष्टि भएको छ । डेंगुबाट बच्ने उपाय लामखुट्टेको टोकाइबाट बच्नु रहेको डाक्टरहरूले बताएका छन् ।