चितवन, असोज ३-
भरतपुर महानगरपालिकाले संस्थागत विद्यालय (बोर्डिङ स्कुल)को शुल्क २० प्रतिशत बढाउने निर्णय गरेपछि अखिल नेपाल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारीले विरोध जनाएको छ ।
बोर्डिङ स्कुलहरुले असोज १ गतेदेखि विद्यार्थीसँग २० प्रतिशत बढी शुल्क लिन पाउने गरी महानगरले निर्णय गरेपछि अनेरास्ववियु क्रान्तिकारीले आज एक विज्ञप्ती प्रकाशित गर्दै सो निर्णयको विरोध जनाएको हो ।
स्थानिय सत्ता र प्याब्सन चितवनको मिलेमोतोमा आम जनता तथा विद्यार्थीहरूको ढाड सेक्ने गरी शुल्क वृद्धि गरिएको र निर्णयको पक्षमा विद्यार्थी तथा अभिभावक नरहेको भन्दै सो निणर्य किमार्थ स्वीकार्य नहुने विज्ञप्तीमा भनिएको छ ।
अखिल नेपाल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी चितवनका संयोजक विकास रसाएलीद्धारा हस्ताक्षरित विज्ञप्तीमा ‘शिक्षा सम्बन्धी मौलिक हक अधिकारलाई प्रभावित तुल्याउने उद्देश्यले अवैज्ञानिक, अव्यवहारिक र असामान्य ढंगले गरिएको शुल्क वृद्धि ७२ घण्टा भित्र खारेज गर्न माग गर्दै शुल्क वृद्धि गर्ने योजना बनाएका स्थानीय तहहरुलाई शुल्क वृद्धि नगर्न समेत माग गर्दछौं ।’ भनिएको छ ।
आफ्ना मागलाई व्यवास्ता गरि शुल्क वृद्धि निर्णय कार्यान्वयन गरे स्थानीय तह तथा प्याब्सन चितवन विरुद्ध कडा संघर्ष गर्ने चेतावनी समेत विज्ञप्ती मार्फत दिएको छ ।
प्याब्सन चितवनले भने २०७६ सालपछि अहिले नै संस्थागत विद्यालयको शुल्क बढेको जनाएको छ । यस्तै, शुल्क वृद्धि गरेपछि विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको तलब बढाउन सकिने प्याब्सनको भनाइ छ ।