चितवन, असोज १ –
भरतपुर महानगरापलिका ११ मा डेङ्गु रोग सम्बन्धि सचेतना कार्यक्रम तथा लामखुट्टेको लार्भा खोजौं र नष्ट गरौं अभियान सुरु गरिएको छ ।
भरतपुर महानगरापालिका वडा नम्बर ११ को आयोजना एवम् भरतपुर महानगरपालिकाको कार्यालय र जलदेवी आधारभूत स्वास्थ्य केन्द्रको समन्वयनमा आज शनिबारदेखि अभियान सुरु गरिएको हो ।
चितवनसहित देशभर नै डेङ्गु रोगका बिरामी बढ्न थालेपछि उक्त अभियान सुरु गरिएको वडा कार्यालयले जनाएको छ ।
आज पहिलो दिन गोर्खाली टोेल र बसेनी क्षेत्रमा अभियान सञ्चालन गरिएको थियो । उक्त अभियानमा मन शिक्षा मन्दिर ईङ्गिलस स्कुलको इको क्लबले पनि ऐक्यबद्धता जनाएको थियो ।
घरदैलो गरेर सञ्चालन गरिएको अभियानमा झुलको प्रयोग गरौँ र डेँङ्गु ज्वरोलाई टाढा भगाउ, घर वरपर सफा राखौं, घर वरपर पानी जम्न नदिउँ, पानी जम्ने टायरहरु हटाऔं लगायतका नाराहरु लगाइएको थियो ।
अभियानमा हिँडेको टोलीले गाउँघरमा लार्भा बस्न सक्ने स्थानको खोजी गरी नष्ट समेत गरेको थियो ।
अभियान नियन्त्रण नभए सम्म जारी रहने जलदेवी आधारभूत स्वास्थ्य केन्द्रकी स्वास्थ्य स्वयमसेविकाले जानकारी दिइन् ।