काठमाडौं, भदौ २८-
डेंगु संक्रमण निरन्तर उकालो लाग्दै गएको देखिएको छ ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी०)को आइतबारसम्मको तथ्यांकअनुसार देशभर साउनदेखि हालसम्म ९ हजार ८३५ जनामा डेंगु संक्रमण भएको छ ।
हुम्ला र मुस्ताङबाहेक देशभरका ७५ जिल्लामा डेंगु फैलिएको छ । त्यसमध्ये १० वटा जिल्ला उच्च जोखिममा छन् ।
उच्च जोखिममा रहने जिल्लामा चितवनसहित ललितपुर, काठमाडौं, मकवानपुर, रुपन्देही, दाङ, भक्तपुर, धादिङ, तेह्रथुम, र काभ्रे रहेका छन् ।
आइतबारसम्मको तथ्यांकअनुसार ललितपुरमा ३ हजार ६ सय २२, काठमाडौंमा २ हजार ४ सय १४, मकवानपुरमा ६ सय ६३, रुपन्देहीमा ५ सय ७०, दाङमा ३ सय ५८, भक्तपुरमा १ सय ७६, धादिङमा १ सय ३७, तेह्रथुममा १ सय १०, काभ्रेपलाञ्चोकमा १ सय ५ र चितवनमा ९० केस पुष्टि भएका छन् ।
यी १० जिल्लामा मात्र ८ हजार २ सय ४५ जनामा डेंगु संक्रमण भएको छ ।
त्यस्तै प्रदेशतर्फ सबैभन्दा बढी वाग्मतीमा ७ हजार ४ सय ४०, लुम्बिनीमा १ हजार ३ सय ५६, प्रदेश १ मा ३ सय २०, सुदूरपश्चिममा २ सय ७१, गण्डकीमा २ सय २ र कर्णालीमा ६६ जनामा संक्रमण पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालले हालसम्म डेंगुबाट ७ जनाको मृत्यु भएको पुष्टि गरे ।








